आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोनाको कारण विश्वअर्थतन्त्र कमजोर हुने प्रक्षेपण

गोकर्णेश्वर खबर१३ माघ २०७८, बिहीबार ०९:५२ मा प्रकाशित (२ साल अघि) ३६६ पाठक संख्या

१३ माघ, काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई आक्रान्त बनाउन थालेपछि विश्व अर्थतन्त्र अपेक्षितभन्दा अझ कमजोर हुने प्रक्षेपण गर्न थालिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय तथा देशभित्रको आवतजावतमा प्रतिबन्ध लागेको, ऊर्जाको मूल्य बढेको, आपूर्ति शृङ्खलामा अवरोध सिर्जना भएकाले विश्वको आर्थिक वृद्धिदर पूर्वानुमानभन्दा घट्ने र मुद्रास्फीति बढ्ने प्रक्षेपण कोषले गरेको हो ।

त्यस्तै चीनको रियलस्टेट क्षेत्रको गिरावट र निजी क्षेत्रको उपभोगमा देखिएको सुस्तताका कारण पनि अर्थतन्त्रको वृद्धिदरलाई सीमित गरिदिने मुद्रा कोषले जनाएको छ । कोषको नियमित प्रकाशन वल्र्ड इकोनोमिक आउटलुकका अनुसार आर्थिक वृद्धिदर सन् २०२१ मा ५.९ प्रतिशतबाट सन् २०२२ मा ४.४ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

दुई ठूला अर्थतन्त्र भएका मुलुकको बजार खस्कँदा आगामी अक्टोबरमा त्योभन्दा पनि आधा प्रतिशत हुने बताइएको छ । त्यस्तै सन् २०२३ मा ३.८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

त्यस्तै विकसित देशको मुद्रस्फीति औसतमा ३.९ प्रतिशतसम्म हुँदा कम आय भएका मुलुकको मुद्रास्फीति ५.९ प्रतिशतसम्म हुने अध्ययनले देखाएको छ । त्यस्तै पेट्रोलियम पदार्थमा १२ प्रतिशत र प्राकृतिक ग्यासको मूल्यमा ५८ प्रतिशतसम्मको वृद्धि हुन सक्ने अध्ययनले देखाएको छ । त्यस्तै खाद्य पदार्थको मूल्यमा ४.५ प्रतिशतसम्मको हुनसक्ने अध्ययनले देखाएको छ । सन् २०२२ र २०२३ मा विश्व व्यापार भने मध्यम अवस्थामा रहने देखिएको छ ।

सन् २०२२ को अन्त्यसम्ममा विश्वका धेरै देशको स्वास्थ्य अवस्था अझ खस्कने अनुमानका आधारमा यो प्रक्षेपण गरिएको कोषले जनाएको छ तर विश्वभर कोभिडविरुद्धको खोपको दरमा सुधार हँुदा र अन्य उपचार पद्धति प्रभावकारी भएमा यो अवस्थामा सुधार आउन सक्ने पनि बताइएको छ ।