आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

चुनावबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

गोकर्णेश्वर खबर८ माघ २०७८, शनिबार ०८:०० मा प्रकाशित (२ साल अघि) १०९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।

शनिबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी देउवाले शुक्रबार सर्वदलीय बैठक बोलाएका हुन्।

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा शुक्रबार अपराह्न बसेको थियो। बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न सर्वदलीय बैठक राखेको उनको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवाले चुनावबारे छलफल गर्न सर्वदलीय बैठक राखेका छन्। यसअघि राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले उपस्थित भएको थिएन।

यसअघि सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको थियो

सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमती गरेको हो।

स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर स्थानीय तहको निर्वाचन गराउने भन्ने विषयमा द्विविधा देखिएकाले त्यसको निक्र्यौंल गरेर अघि बढन निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गरेर अघि बढने सहमती गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्नेबारे छलफल भयो । संविधान र कानुनमा केही द्विविधा रहेको, त्यो द्विविधालाई कसरी हटाउने भन्नेबारे छलफल भयो । स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन निर्वाचनलाई सुरु मिति मानेर पाँच वर्ष पूरा भएको भन्ने अन्यौल रहेको छ। त्यस सम्बन्धमा सत्तारुढ गठबन्धनले संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने समझदारी बनेको छ’, मन्त्री कार्कीले भने, ‘निर्वाचनलाई मितव्ययी बनाउन तीन तहको निर्वाचन एकैपटक गर्ने कि भन्ने बारे पनि छलफलमा विषय उठेको छ।’

बैठकमा आर्थिक रुपमा मितव्ययी हुने भन्दै तीन वटै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषयलाई प्रवेश गराइएको थियो। तर त्यस विषयमा विस्तृत छलफल भने नभएको मन्त्री कार्कीले बताए।