आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रदेश २ को नाम ‘मधेश’, स्थायी राजधानी ‘जनकपुरधाम’

गोकर्णेश्वर खबर३ माघ २०७८, सोमबार १८:१० मा प्रकाशित (२ साल अघि) ५३१ पाठक संख्या

३ माघ, काठमाडौं । प्रदेश २ को नाम मधेश नामाकरण भएको छ । यसैगरी, प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो । प्रदेशको नाम तोकिनु अघि प्रदेशसभामा भएको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको थियो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।

यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

यसैगरी प्रदेश राजधानिको नामाकरण टुंगिए पछि प्रदेश सभाको नामको लागि बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले मधेश नामको पक्षमा मत दिएका छन् ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।

तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।