आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपालमा ओमिक्रोन भेरियन्ट तीव्रगतिमा फैलन सक्ने आंकलन, ४० प्रतिशत संक्रमित हुनसक्ने प्रक्षेपण

गोकर्णेश्वर खबर२९ पुष २०७८, बिहीबार ०९:३९ मा प्रकाशित (२ साल अघि) ४०२ पाठक संख्या

पुस २९, काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्ट तीव्रगतिमा फैलन सक्ने आंकलन गरिएको छ । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेरियन्ट तीव्रगतिमा फैलन सक्ने आंकलन गरेको छ । ओमिक्रोनबाट ४० प्रतिशत नागरिक संक्रमित हुनसक्ने अनुमानसहित त्यही आधारमा स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राखेको मन्त्रालयका एक उच्च अधिकारीले बताएको रातोपाटी अनलाईनले बताएको छ ।

नेपालमा हालसम्म २७ जना कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । यद्यपि एक सातायता भेटिएका संक्रमित मध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि भएको छ ।

संक्रमितमध्ये धेरै जनामा डेल्टा भेरियन्ट पुष्टि भएपनि छिमेकी राष्ट्र भारतमा ओमिक्रोन भेरियन्ट पुष्टि भइरहेकाले संक्रमण फैलने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । पछिल्लो समय भारतबाट नेपाल फर्किने नेपालीहरुको संख्या वृद्धि हुँदै गएकाले पनि संक्रमणको उच्च जोखिम बढेको हो ।

यता त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक तथा छातीरोग विषेशज्ञ डा. निरज बमले समयमै ओमिक्रोनको रोकथाम गर्न नसकेको खण्डमा चुनौतिपूर्ण अवस्था सृजना हुनसक्ने बताएका छन् । पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै अस्पतालमा तुलनात्मक रुपमा संक्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । अहिले नेपालका अस्पतालमा गम्भिर खालका बिरामी नआए पनि परिक्षण गर्नेको संख्या भनें निकै बढेको छ ।