आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

राप्तीसोनारीमा बाघको आतङ्क, बाघ नियन्त्रण गर्न प्राविधिक टोली परिचालन

गोकर्णेश्वर खबर२५ पुष २०७८, आईतवार १४:०० मा प्रकाशित (२ साल अघि) ५१८ पाठक संख्या

२५ पुष, नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा बाघको आतङ्क अत्यधिक बढेर गएपछि बाघ नियन्त्रणका लागि विभिन्न सरकारी निकायहरुले काम गर्ने भएका छन् ।

बाघ नियन्त्रणको लागि सङ्घीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायसँग समन्वय गरेर प्रक्रिया अगाडि बढिरहेको छ ।

आइतबार बाघलाई नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली नेपालगञ्ज आउने कार्यक्रम रहेको छ ।

बाघलाई नियन्त्रणका लागि टोलीले नेपालगञ्ज पुगेलगत्तै राप्तीसोनारीमा गएर बाघ नियन्त्रणका लागि आवश्यक कार्य आइतबारबाटै शुरु गर्नेछ । सो सम्वन्धमा स्थानीयस्तरमा माइकिङ र एफएम रेडियोबाट सूचना प्रसारण गरेर स्थानीय बासिन्दालाई जङ्गलभित्र प्रवेश नगर्न तथा अनावश्यक घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ ।

बाघले दुई दिनमै राप्तीसोनारीमा दुई जना महिलाको ज्यान लिएपछि राप्तीपारीका स्थानीय बासिन्दा अत्यधिक त्रसित भएका छन् । राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसअघि बाघले आक्रमण गर्दा राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो ।

जंगलमा घाँस दाउरा काट्न गएको बेलामा बाघले मारेको हो । यो सहित बाँकेमा तीन महिनाको अवधिभित्र बाघले चार जनाको ज्यान लिइसकेको छ ।