आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

फ्रन्टलाईनरलाई माघको पहिलो सातादेखि खोपको तेस्रो मात्रा

गोकर्णेश्वर खबर२४ पुष २०७८, शनिबार १५:३० मा प्रकाशित (२ साल अघि) ३९४ पाठक संख्या

२४ पुष, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिने भएको छ ।

माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाईने भएको हो । कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिइने भएको हो ।

नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ सङ्क्रमण ८.४९ प्रतिशतमा देखिएको छ । हिजो मात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा सङ्क्रमण देखिएको थियो । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । हिजो मात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन मात्र (यही पुस २० गते) लगाएर स्थगित गरिएको थियो ।

मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो । मन्त्रालयले राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ ।

यस्तै, मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपङ्क्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा खोप लगाइनेछ ।