आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गगन थापा भन्छन्- ‘प्रधानन्यायाधीशले सही ढंगले अदालत चलाउन सक्नुभएन भने हट्नुपर्छ!

गोकर्णेश्वर खबर२३ पुष २०७८, शुक्रबार २०:५७ मा प्रकाशित (२ साल अघि) ३४३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले न्यायालयमा देखिएको समस्या त्यहीँभित्र संवादबाट समाधान नगरे कांग्रेसले प्रधानन्यायाधीशले पद छोड्नुपर्ने निर्णय गर्ने बताएका छन् ।

आइतबार गोरखामा आयोजित पार्टी कार्यक्रममा उनले अदालत लामो समयदेखि राम्ररी चल्न नसकेको भन्दै समस्या समाधान नभए कांग्रेसले कठोर कदम चाल्नुपर्ने बताएका हुन् ।

‘कि त्यहाँभित्र संवादमा बसेर सामान्य अवस्था बनाउनुपर्छ, होइन भने नेपाली कांग्रेसले कठोर निर्मम निर्णय लिनुपर्छ’ उनले भने, ‘अदालत प्रमुखले सही ढंगले अदालत चलाउन सक्नुभएन भने उहाँले त्यहाँबाट हट्नुपर्छ र अदालत सही ढंगले चल्नुपर्छ, त्यो निर्णय गरेर नेपाली कांग्रेसले यसलाई सम्हाल्नुपर्ने अवस्था आउन सक्छ ।’

संसद, अदालत र संवैधानिक अंगलाई पंगु बनाइएको अवस्थामा कांग्रेसको हातमा सरकारको नेतृत्व आएको भन्दै उनले यी समस्या समाधान गरेर चुनावमा जानुपर्ने बताए ।

‘संसदलाई पंगु बनाइएको छ, अदालत पंगु बनाइएको छ, संवैधानिक अंगलाई पंगु बनाइएको छ । यस्तो बीचमा कांग्रेसले सरकार चलाएर चुनावमा जाँदा कांग्रेसले केही गर्न सकेन भन्ने प्रयत्न गर्न खोजिएको छ, कांग्रेसले यसलाई चिर्नुपर्छ’ उनले भने ।