आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

तराईमा शीतलहर बढ्यो, जनजीवन कष्टकर

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार १५:२३ मा प्रकाशित (२ साल अघि) ३३५ पाठक संख्या

२१ पुष, काठमाडौं । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।

विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै चल्न थालेको शीतलहरले यस क्षेत्रका जनजीवन कष्टकर बनेको छ । हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ । चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भइरहेका छन् ।

पहाडका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या देखिने गरेको छ । केही दिनदेखि धनगढी विमानस्थलबाट हुने हवाई सेवा पनि प्रभावित भइरहेको छ ।

शीतलहरले चिसो बढ्दै गएपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द भएका छन् । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।