आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

जम्बुडाँडा क्षेत्रको फोहोरमैला तथा कबाडी मोटरसाईकल व्यवस्थापनका लागि अन्तर्क्रिया

गोकर्णेश्वर खबर२० पुष २०७८, मंगलवार १६:५१ मा प्रकाशित (२ साल अघि) ३९४ पाठक संख्या

२० पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा रहेको जम्बुडाँडामा थुप्रिएको फोहोर तथा प्रहरी कारवाहीमा परेर बसेका कबाडी मोटरसाईकल व्यवस्थापनका लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जम्बुडाँडामा थुप्रिएको फोहोर तथा प्रहरी कारवाहीमा परेर बसेका कबाडी मोटरसाईकलको समस्या समाधान गर्न जम्बुडाँडा वरपरका वडाका तल्ला भेगका समुदायका टोलसुधार समिति तथा स्थानीय समुदायसँग अन्तर्क्रिया कार्यक्रम भएको हो ।

अन्तर्क्रिया वडा अध्यक्ष नारायण बहादुर सुवेदीको प्रमुख आतिथ्यता तथा बौद्ध प्रहरीका डिएसपि ढुण्डिराज न्यौपानेको विशेष आतिथ्यतामा महानगरीय प्रहरी बिट जम्बुडाँडामा भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले जम्बुडाँडा परिसरको फोहोरमैला शनिबारसम्ममा स्थानीय टोल सुधार र संघसंस्थासँग मिलेर व्यवस्थापन गर्ने बताए । स्थानीय टोलमा असुरक्षा बढेको प्रति वडा अध्यक्ष सुवेदीले वडा कार्यालय, प्रहरी बिट र समुदायसँग सहकार्यमा गस्ति गर्ने बताए । सुवेदीले जम्बुडाँडा क्षेत्रमा ४ वटा सीसीटीभी जडान गर्ने समेत बताए । यसैगरी उनले फोहोरमैला व्यवस्थापनमा कडाई गर्ने जनाउँदै फोहोर फाल्नेलाई फोहोरमैला व्यव्स्थापन ऐन २०६८ अनुसार कडा कारवाही गर्ने बताए ।

यसैगरी, विशेष अतिथी डिएसपि ढुण्डिराज न्यौपानेले प्रहरी कारबाहीमा परि छाडिएका बाईकहरुको उचित व्यवस्थापनका लागि सहयोग गर्ने तथा स्थानीय क्षेत्रको शान्ति सुरक्षाका लागि स्थानीय सरकार र समुदायसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

अन्तर्क्रिया कार्यक्रममा स्थानीय गगन नगर, सुगम नगर, वासुकी टोल, उपकार टोल, ग्रिन भिलेज टोल लगायतका स्थानीय टोल विकास समितिका पदाधिकारी तथा स्थानीय वासिन्दाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।