आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

अमेरिका जाँदै गरेका नेपाली युवकको पेरुमा मृत्यु

गोकर्णेश्वर खबर२२ मंसिर २०७८, बुधबार १९:४४ मा प्रकाशित (२ साल अघि) ७४७ पाठक संख्या

दाङ । अमेरिका जाँदै गरेका दाङका एक युवकको पेरुमा मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको नेपाली समय अनुसार सोमबार बेलुका ७ बजेतिर पेरुमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

गैरकानुनी रूपमा अमेरिका जाँदै गरेका बोहराको मृत्युबारे सँगै रहेका तुलसीपुर ४ रक्षाचौर र रुकुमपश्चिमका अर्का एक युवाले घरपरिवारलाई खबर दिएको मृतक साहिलका मामा सुमन घलेले बताए।

‘पेरुमा हिँडिरहेको समयमा एक्कासी मेरो छाती दुख्यो भनेर भान्जा साहिल ढलेको र त्यसपछि साथीहरूले अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको भन्ने छ,’ घलेले भने, ‘अस्पतालका अनुसार साहिलको हृदयघातका कारण मृत्यु भएको भन्ने खबर साथीहरूले दिएका छन्।’

भान्जाको मृत्युको तस्बिर सँगै रहेका उनका साथीहरूले आफूलाई पठाइदिएको घलेले बताए।

सँगै हिँडिरहेका तीन नेपालीमध्ये साहिलको एकाएक मृत्युपछि अन्य दुई जना युवालाई पेरुको प्रहरीले पक्राउ गरेको घलेले जानकारी दिए।

‘भान्जाको शव त्यहीँको अस्पतालमा थन्किएको छ,’ घलेले भने, ‘मैले सोमबार नै ब्राजिलको दूतावासमा पत्राचार गर्दै अपील गरेको छु।’

पेरूका चिकित्सकले आफूसँग सामाजिक सञ्जालको माध्यमबाट कुरा गर्न खोजेपछि उनीहरू स्पेनिस भाषा बोल्ने हुँदा दोहोरो संवाद गर्न कठिन भएको घलेले जानकारी दिए। शव कसरी नेपाल ल्याउने उपाएको खोजी भइरहेको र अहिलेसम्म कुनै उपाय फेला परिनसकेको उनले बताए।

साहिल परिवारका एक्ला छोरा हुन्। काका नाता पर्ने कृष्ण केसीले उनीहरूलाई दसैंअगाडि अमेरिका जान भनेर घरबाट हिँडाएको थाहा भएको छ।

‘साहिल मेरो सालीको छोरा हो,’ केसीले भने, ‘भतिजको मृत्युको खबरले घर परिवार र आफन्त शोकमा परेका छौं।’

केसीका अनुसार साहिलले झन्डै डेढ वर्ष पहिला मात्रै तुलसीपुर६ बरुवागाउँबाट बिहे गरेका थिए।

पेरुमा नेपाली दूतावास छैन। उनीहरू गैरकानुनी रूपमा अमेरिका हिँडेको हुँदा शव कसरी घरसम्म ल्याउने भनी तनाव सिर्जना भएको केसीले बताए।