आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा ५ दिने कर्मकाण्ड प्रशिक्षण शुरु

गोकर्णेश्वर खबर८ कार्तिक २०७८, सोमबार ०८:१७ मा प्रकाशित (२ साल अघि) ५८८ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका धार्मिक समितिद्वारा आयोजित पाँच दिने वैदिक कर्मकाण्ड प्रशिक्षण शुरु भएको छ । आईतबार गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नगर प्रमुख चालिसेले विधिपूर्वक कर्मकाण्ड हुनु पर्नेमा विशेष जोड दिंदै शास्त्रीय विधिपूर्वक गरिने कर्मकाण्डलाई स्थापित गर्न पण्डितहरुलाई आग्रह गरे । उनले समाजमा कर्मकाण्ड र धर्मसंस्कृतिमाथी चुनौति बढीरहेको सन्दर्भमा धर्मसंस्कृतिको संरक्षणमा धर्म गुरुहरुले विशेष भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले धर्म संस्कृतिले मानव जातिलाई सभ्य र चेतनशील हुन प्रेरणा दिईरहने भएकोले धर्म महाविज्ञान भएकोमा जोड दिंदै विवेकविहिनताले विज्ञानको सदुपयोग हुन नसक्ने बताए ।

वडा नं. ५ को सभाहल जोरपाटीमा आयोजित प्रशिक्षण शुभारम्भ कार्यक्रमलाई गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षत्री, नगर प्रवक्ता एवम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सभापतित्व गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका सचिव केदार बहादुर सुवेदीले गरेका थिए भने कार्यक्रम सञ्चालन गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका अध्यक्ष दिवाकर भण्डारीले गरेका थिए ।

५ दिने प्रशिक्षणमा धर्म, संस्कृति र कर्मकाण्डका विभिन्न विषयमा प्रा.डा आनन्द घिमिरे, डा.वाशुदेव कृष्ण शास्त्री, प्रा.डा. रामचन्द्र गौतम, प्रा.डा. ऋषिराम पोखरेल, प्रा.कोषराज न्यौपाने लगायतले प्रशिक्षण दिनेछन् ।