आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बाल विकास समाजको सामाजिक परिक्षण सम्पन्न,तालिम प्राप्त किशोरकिशोरीलाई सिलाइ मेसीन लगायतका सामग्री हस्तान्तरण

गोकर्णेश्वर खबर१० आश्विन २०७८, आईतवार १३:०९ मा प्रकाशित (२ साल अघि) १७३ पाठक संख्या

काठमाडौ । बाल विकास समाजले पारदर्शीता र जवाफदेहिता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ वार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सोही क्रममा संस्थाले वल्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत ३९० घण्टा व्यवसायिक तालिम प्राप्त गरेका किशोरकिशोरीहरुलाई सिलाइ मेसीन, हाउस वाइरिङ लगायतका सामग्री हस्तान्तरणसमेत गरेको छ ।

संस्थाले हरेक वर्ष सामाजिक परिक्षण कार्यक्रमलाई प्रमुखताका साथ अगाडी बढाइरहेको छ । संस्थाका कार्यसमिति पदाधिकारीहरु आफैले आर्थिक सहयोग जुटाएर बालबालिकाहरुको शिक्षाको लागि काम गरिरहेको हुनाले पनि संस्थामा लिने हैन दिने परिपाटीको विकास भएको देखिन्छ । बाल विकास समाजले अन्य गैरसरकारी संस्था भन्दा फरक तरिकाले बालबालिकाहरुको लागि काम गरिररहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

जिल्ला समन्वय समिति काठमाडौका उप प्रमुख सरिता दाहालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सुर्यविनायक नगरपालिकाका उप प्रमुख जुना बस्नेत, नगरस्तरी बाल अधिकार समितिका संयोजक, चन्द्रागिरी नगरपालिका सामाजिक शाखाका प्रमुख, गोकर्णेश्वर नगरपालिकाका सामाजिक शाखा प्रमुख कीर्तिपुर नगरपालिकाका प्रतिनिधि विभिन्न सरोकारवाला निकायका प्रतिनिधि कार्यक्रमबाट प्रत्यक्ष लाभ लिने समुदाय, संस्थाका पदाधिकारी, कर्मचारीहरुसमेतको सहभागीता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले बाल विकास समाजले गरेका कार्यक्रमहरु बालबालिकाहरुको हितका लागि प्रभावकारी नै रहेको बताएका थिए । कार्यक्रममा संस्थाका संस्थापक महासचिव तथा सल्लाहकार शरद शर्माले अतितको काम गराइको अनुभव राखेका थिए भने संस्थाका महासचिवले कार्यसमितिमा रहेका सबै पदाधिकारीहरुले संस्थामा आर्थिक सहयोग दिएर कार्यक्रम गर्ने भएको हुनाले बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नका लागि संस्था सधै प्रतिवद्ध रहेको जनाए । आफूले गरेका कामहरुको बढी प्रचार प्रसार गर्ने भन्दा पनि हामीले दिएको सेवाबाट बालबालिकाहरु कति खुशी छन र उनीहरुले संस्थाले दिएको सेवाबाट कसरी लाभ लिइरहेका छन भन्ने महत्वपूर्ण हुने कुरासमेत बताएका थिए ।

मन्तव्यकै क्रममा सुर्य विनायक नगरपालिका उपप्रमुखले संस्थाले बालश्रम अन्त्यका लागि गरेको काम प्रशंसनीय रहेको बताइन । कार्यक्रमकी प्रमुख अतिथिले संस्थाको काम स्वागत योग्य रहेको हुनाले यो संस्थालाई प्रदेशस्तरसम्म जोडने भूमिका आफूले खेल्ने प्रतिवद्धतासमेत व्यक्त गरीन् । कार्यक्रममा सहभागी किशोरीकिशोरी तथा बालबालिकाहरुले संस्थाको कार्यक्रमले आफूहरुलाई धेरै फाइदा भैरहेको कुरा बताएका थिए भने सामग्री प्राप्त गर्नेहरु निकै खुशी देखिन्थे ।