आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एमसीसीलाई बोकेर हिँड्नु भनेको आगोको भुंग्रोमा पस्नुजस्तै हो : विप्लव

गोकर्णेश्वर खबर६ आश्विन २०७८, बुधबार २२:०९ मा प्रकाशित (२ साल अघि) १७६ पाठक संख्या

पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विप्लवले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती सम्झौता भएको बताएका छन् । पोखरामा बुधबारदेखि शुरु भएको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालको ‘राजनीतिक भाँडभैलो’ र ‘असफल’ राज्यमा अमेरिकाले फाइदा उठाएर हिँड्न चाहेको दाबी गरे ।

‘एमसीसी राष्ट्रको विरुद्धमा छ, जनताको विरुद्धमा छ । यो गर्नुहुँदैन । तलतल काम भइसकेको (एमसीसीको) सुनेका छौं,’ उनले भने, ‘जनताको अनुमतिबिना त्यो गर्नुहुँदैन, जनताको सहमतिबिना एमसीसीलाई जबर्जस्ती लागू गरियो भने त्यो सम्भव छैन ।’

विप्लवले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको एमसीसीबारेको तर्क सुनेर आफूहलाई अनौठो लागेको बताए । ‘अमेरिका गएर फर्किएपछि बाबुरामजीको तर्क सुन्दा अनौठो लागिराछ,’ उनले भने, ‘सिन्धुलीमा गएर यो किन विरोध गर्ने ? जेको पनि विरोध गर्ने भन्नुभएछ । बाबुरामजी त्यहाँ पुग्नुभा’छ । हाम्रो एकदम सदासयता छ । तर, एमसीसीलाई बोकेर हिँड्नु भनेको आगोको भुंग्रोमा पस्नुजस्तै हो ।’

उनले हालको संसदीय व्यवस्था फेल भइसकेको दाबी गर्दै परिवर्तनका लागि जनमत संग्रह गर्नुपर्ने दोहो¥याए ।

महासचिव विप्लवले सरकारले आफूहरुसँग गरेको तीनबुँदे सहमति पालना नगरे त्यसलाई तोड्ने चेतावनी समेत दिएका छन् । जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले अर्को शर्त थोपर्न खोजे वा घुमाउरो घेरा हाल्न खोजे आफूहरुले त्यसलाई तोड्ने उनको भनाइ छ ।

बुधबारबाट शुरु भएको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन असोज ८ गतेसम्म चल्नेछ ।