आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेस काठमाडौंको वडा अधिवेशन आज हुँदै

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार १०:०३ मा प्रकाशित (२ साल अघि) १४४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन आज हुँदैछ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिन्छ ।

तर क्रियाशील सदस्यताको विवाद नमिल्दा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन । पछि विवाद मिलेपछि कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार गरेको थियो ।

कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर जिल्लालाई पठाइसकेकाले आज वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।

काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरु छन् ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको थियो । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

कांग्रेसले गाउँ,नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन,एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।