आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एमाले सांसदको नाराबाजीकैबीच प्रतिनिधिसभाबाट बजेट पारित

गोकर्णेश्वर खबर४ आश्विन २०७८, सोमबार १७:४० मा प्रकाशित (२ साल अघि) १४२ पाठक संख्या

काठमाडौं । संसदको प्रतिनिधि सभामा प्रस्तुत भएको बजेटको तीनवटै विधेयक पास भएको छ।

अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न आएको प्रतिस्थापन विधेयक बजेटको नै अंग हुने गरी बजेट पास भएको हो।
आज प्रतिनिधिसभा सुरु भएको दफाबार छलफलपछि विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पास भएको हो।

अर्थमन्त्री जनार्दन शर्माले तीनवटै विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त छलफलमा सांसद प्रेम सुवालले स्वास्थ्यमा जोखिम हुने वस्तु बन्द गर्नुपर्नेलगायतका प्रस्ताव गरेका थिए। उनको प्रस्ताव अस्वीकृत भएको थियो।

प्रतिनिधिसभाको बहुमत सदस्यबाट तीनवटै विधेयक पास गर्ने निर्णय भएको सभामुखले निर्णय सुनाएका थिए।

प्रतिपक्षी दल एमालेले भने संसदको अवरोध कायम नै राखेको छ । सभामुख सापकोटाले एमालेप्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै एमालेले निरन्तर संसदमा विरोध गर्दै आएको छ।

सोमबारको बैठकमा पनि एमाले सांसदहरुले वेल घेर्दै संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन लगायतको नाराबाजी गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक असोज ७ गते बिहीबार दिउँसो २ बजे बोलाइएको छ ।