आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन-२ को उपाधि

गोकर्णेश्वर खबर३ आश्विन २०७८, आईतवार ०९:२४ मा प्रकाशित (२ साल अघि) २७६ पाठक संख्या

काठमाडौं । ताप्लेजुङका भरतमणि पौडेलले रियालिटी सो कमेडी च्याम्पियन-२ को उपाधि जितेका छन्।

विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्। उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए।

यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल पाए।

कलाकारमा मनोरञ्जन गराउने खुबीसँगै सिर्जनशील प्रस्तुति दिने चुनौती पनि हुन्छ। यसका लागि कलाकारले चुनौती मोल्ने जोखिम मोल्न सक्नु पर्छ। कमेडी च्याम्पियनको दोस्रो सिजनमा विक्कीले यस्तै जोखिम मोल्ने साहस देखाएर चर्चा कमाएका थिए।

टप ३ मा पुग्नुअघिको प्रस्तुतिमा विक्कीले पेन्टोमाइम अभिनय रोजे। उनको यो रोजाइ सबै निर्णायकका लागि जोखिमपूर्ण लाग्यो। अरूले यो जोखिमको सरहाना गरे पनि निर्णायक सन्तोष पन्तका लागि यो कमेडी नै भएन। उनले विक्कीको प्रयोग स्वीकारेनन्। बरू आलोचना गरे।

भरिलो आँखा लिएर विक्की बोले, ‘मलाई पेन्टोमाइम अभिनय गरेकामा कुनै पनि पश्चाताप छैन। कमेडी च्याम्पियनको सेटमा म जित्नभन्दा पनि केही नयाँ गर्न आएको हुँ।’

धेरै दर्शकले निर्णायक पन्तको प्रतिक्रियामा आपत्ति जनाएपछि विक्कीको यो प्रस्तुति युट्युबमा केही दिनसम्म निरन्तर ट्रेन्डिङमा थियो।

यो विवादले विक्कीलाई फाइदा नै गर्‍यो। पेन्टोमाइमको प्रस्तुतिपछि धेरैले विक्कीको पक्षमा मत दिएर फाइनलमा पुर्‍याएका थिए।

यस्तै गोरखाका सन्तोष थापा तेस्रो भएका छन्। उनले स्कुटर जितेका छन्।

नाटकमा केही काम गरेको अनुभव भए पनि सन्तोष प्रहरी बन्न हिँडेका थिए, तर बन्नु रहेछ कमेडियन। कुनै बेला डिप्रेसनबाट बाहिर निस्कन कमेडी हेर्ने उनी कमेडी च्याम्पियनको पहिलो सिजनका प्रस्तुति हेरेर सोमा आउन लालयित भएका हुन्।

उनी दमदार प्रस्तुतिका आधारमा फाइनल आइपुगे पनि भोटका आधारमा उपाधि जित्न सकेनन्।