आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

दसैंका लागि ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

गोकर्णेश्वर खबर१ आश्विन २०७८, शुक्रबार ११:०२ मा प्रकाशित (२ साल अघि) २७५ पाठक संख्या

काठमाडौं । दसैंलगायत चाडपर्वलाई लक्ष्य गरी सरकारले आजदेखि देशका ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा अन्य पसलमा भन्दा कम मूल्यमा किन्न पाइनेछ। सामान किन्दा किलोमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रतिकिलो चामलमा ५, सिमी तथा फापरमा १०, नुनमा २, चिनीमा ५, खसी–बोकामा १० रुपैयाँ छुट पाइनेछ।

मन्त्रालयका सहसचिव रायणप्रसाद रेग्मीका अनुसार सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन्।

आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसल सञ्चालन गरेका हुन्।

काठमाडौंं उपत्यकामा खाद्य व्यवस्था र साल्टको गरेर घुम्ती सेवासहित १३ वटा पसल सञ्चालनमा आउने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत रहनेगरी थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक भक्तपुरमा चार वटा बिक्री केन्द्र हुनेछन् ।

यस्तै साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय कालीमाटीमा २, कोटेश्वर, सतुंगल, जाउलाखेल र भक्तपुरमा गरेर ६ वटा सहुलियत पसल सञ्चालनमा आएका छन् ।

खाद्य कम्पनी अन्तर्गतको ३९ र साल्टको २६ वटा थप सहुलियत पसलहरु भने काठमाडौं उपत्यका बाहिर छन् । खाद्य अन्तर्गतका पसलहरु ३९ र साल्टले २४ जिल्लामा आफ्नो केन्द्रबाट सहुलियतको खाद्यान्न बिक्री गर्ने छन् ।