आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

वामदेव गौतमले त्यागे एमाले

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार २०:१३ मा प्रकाशित (२ साल अघि) ३३२ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन् ।

गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थन भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

राजीनामा पत्रका गौतमले एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री भएपछि वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) को घोषणा पत्रलाई पनि लागू नगरेको भन्दै उनले भनेका छन्, ‘तपाईले गर्नु भएको कामहरुलाई पटकपटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईले आफूलाई सुधार गर्न सक्नुभएन ।’

जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुई तिहाईको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरित संसद भंग गरेको गौतमको आरोप छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विाधन र संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामुहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’लाई पालना नगरेको उनको आरोप छ ।

कार्यशैली सुधार गर्न आफूले पटक(पटक सुझाव दिएको भन्दै गौतमले राजीनामा पत्रमा भनेका छन्, ‘तर तपाईँ सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’ आफ्नो गलत नीति र विचार अनुसार नचल्दासमकक्षी नेताहरुलाई एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निस्कासनसम्म गर्ने स्वेच्छाचारी तथा निरंकुश शैली अंगालेको गौतमको आरोप छ ।

गौतमले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘तपाईले आफ्नो स्वेच्छाचारी तथा सर्वसत्तवादी नीति र निर्णय गर्न राष्ट्रपतिलाई समेत दुरुपयोग गर्नुभयो ।’