आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

महेश बस्नेतजी मलाई होइन भक्तपुर सभापति थापालाई चुनाव हराएर देखाउनुस् : देउवा

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार १४:३२ मा प्रकाशित (२ साल अघि) १७० पाठक संख्या

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताए ।

केही अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिए । भदौ पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफुले सहजै रुपमा विजय हासिल गर्ने दावी गरेका थिए । बस्नेतले आगामी निर्वाचन पछि भक्तपुरमा कांग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए । तर बस्नेतकै निर्वाचन क्षेत्रमा काँग्रेसको वडा अधिवेशन उद्घाटन समारोहमा देउवाले काँग्रेस सशक्त ढंगले अघि बढिसकेको बताए । उनले भने, ‘बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

उनले पार्टीले महाधिवेशनको प्रक्रिया सुरुवात गरेको भन्दै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्दै पार्टी थप सशक्त ढंगले अघि बढ्ने विश्वास गरे । उनले महाधिवेशन सफल बनाउन एकताबद्ध भएर लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।