आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) को सभापतिमा केशव प्रसाद पुडासैनीको दावी

गोकर्णेश्वर खबर१२ भाद्र २०७८, शनिबार ११:४० मा प्रकाशित (२ साल अघि) ७०३ पाठक संख्या

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) को सभापतिमा केशव प्रसाद पुडासैनीले दावी गरेका छन् । २०३६ सालको जनमत संग्रहको आन्दोलन देखि राजनीतिक यात्रा शुरु गरी अविचलित रुपमा नेपाली कांग्रेसमा रही कार्य गर्दै आएको बताउँदै पुडासैनीले यस क्षेत्रका नेता, कार्यकर्तासँग सल्लाह गरेर अगाडी बढेको बताए ।

उनले काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) को सभापतिको रुपमा पार्टीलाई बलियो बनाउने दृढ ईच्छाशक्ति बोकेरै अगाडी बढेको बताए । उनले स्थानीय क्षेत्र र केन्द्रलाई जोड्ने कडीको रुपमा प्रदेश रहेकोले प्रदेश तहबाट स्थानीय समस्याको समाधान तथा स्थानीय क्षेत्रको विकासका लागि बलियो नेतृत्वको आवश्यकता रहेकोले आफूले सबैलाई मिलाएर अगाडी बढ्ने र सबैसँग सहकार्य गरी पार्टी र जनताको हितमा काम गर्ने बताए ।

नेपाली कांग्रेसले घोषणा गरेको आन्दोलन तथा राजनीतिक अभियानहरुमा निरन्तर अगाडी बढ्दै आएको बताउने पुडासैनीले आफ्ना राजनीतिक गुरु चक्र बहादुर ठकुरीको नेतृत्वमा रहेर यस क्षेत्रमा सक्रिय रुपमा कार्य गरेको स्मरण गर्दै प्रदेश सभापतिमा आफूलाई पार्टीको पुरानो र सक्रिय कार्यकर्ताको रुपमा अग्रज र युवाहरु सबैले सहयोग गर्ने बचन दिएको बताए ।

वर्तमान क्षेत्रीय पार्टी सभापति सन्तोष चालिसेको नेतृत्वमा, त्यसका साथै पार्टीका भातृ संगठनहरुसँग एक्यबद्ध रहँदै पार्टीलाई अगाडी बढाउने कार्यमा आफू निरन्तर लागिरहेकोमा जोड दिंदै पुडासैनीले गुट उपगुट भन्दा पनि सिंगो पार्टीलाई एक बनाएर अगाडी बढाउन प्रदेश सभाको सभापतिमा दावी गरेकोले सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का इकाई सचिव समेत रहेका पुडासैनीले नेपाली कांग्रेस पार्टीबाट २०४८ सालमा तत्कालीन जोरपाटी गाविस वडा नं. २ को वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए भनें नगरपालिका बन्नु भन्दा पहिले जोरपाटी वडा नं. २ को संयोजकको रुपमा कार्य गरिसकेका छन् ।