आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेपाली कांग्रेस गोकर्णेश्वर ५ नं. इकाइ उदाहरणीय बनोस् : माननीय छिरिङ दोर्जे लामा

गोकर्णेश्वर खबर५ भाद्र २०७८, शनिबार १८:५८ मा प्रकाशित (२ साल अघि) ४९२ पाठक संख्या
५ भदौ, काठमाडौं । वागमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले नेपाली कांग्रेस गोकर्णेश्वर ५ नं. इकाइ उदाहरणीय बन्नु पर्नेमा जोड दिएका छन् । उनले जोरपाटी गोकर्णेश्वर नगरपालिकाको केन्द्र रहेको र गोकर्णेश्वरले काठमाडौं क्षेत्र नं. ३ मा महत्वपूर्ण राजनीतिक भूमिका खेल्ने भएकोले ५ नं. इकाइ उदाहरणीय बन्नु पर्नेमा जोड दिएका हुन् ।
आज जोरपाटीमा सम्पन्न नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ मा रहेको गो.न.पा. ५ नं. इकाईको बृहत क्रियाशिल भेलालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य लामाले सो कुरा बताएका हुन् । उनले पार्टीलाई एकताबद्ध बनाएर जनतालाई जोड्दै स्थानीय विकासमा अगाडी बढ्न सके नेपाली कांग्रेसको भविष्य राम्रो देखिएकोमा जोड दिंदै आपसी असहमतिका विषयमा घनिभूत छलफल गरी सार्थक निष्कर्षमा पुग्नै पर्ने आवश्यकता औंल्याए । विपक्षिले फाईदा उठाउने गरी विवादका विषयमा अनावश्यक चर्चा नगर्न आग्रह गर्दै लामाले पार्टीलाई आगामी दिनमा बलियो बनाउन भेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
वृहत क्रियाशिल भेलाका सभापति तथा नेपाली कांग्रेस गो.न.पा. ५ नं. इकाई सभापति नारायण बहादुर सुवेदीले सबै पक्षका गुनासाहरु सम्बोधन गर्दै समस्याको हल हुने गरी इकाईमा सबल र सक्षम नेतृत्व ल्याउन सके नेपाली कांग्रेस पाटी बलियो हुनुका साथै ५ नं. को विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । सुवेदीले आसन्न चुनावलाई लक्षित गरी पार्टीपंक्ति एकढिक्का भएर अगाडी बढ्न आवश्यक रहेको समेत बताए ।
भेलालाई सम्बोधन गर्दै युवा नेता लाल बहादुर लामाले अधिवेशनबाट जनताको पक्षमा, इमान्दारितापूर्वक जनताको माझमा गएर काम गर्न सक्ने, क्रियाशिललाई मिलाएर अगाडी बढ्ने इकाई सभापति छान्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं. ३ प्रदेश क का सभापति सत्यभामा श्रेष्ठले स्थानीय क्षेत्रमा रहेको असहमति शिष्ट रुपमा हल गरी पार्टीलाई बलियो बनाएर लैजान आवश्यक रहेकोमा जोड दिंदै आगामी चुनावमा पार्टीलाई बलियो बनाउन सबैले एक्यबद्ध भएर काम गर्नु पर्ने बताईन् ।
साविक जोरपाटी गा.वि.स.का सभापति कुमार राज सुवेदीले संगठनलाई एकढिक्का गरेर बलियो बनाउने र ५ नं. इकाईबाट क्षेत्रको नेतृत्व गर्न सक्ने युवा नेतृत्वको खाँचो औंल्याउँदै क्षेत्र नं. ३ मा ५ नं. इकाईको महत्व स्थापित गर्न सबै मिलेर अगाडी बढ्न आवश्यक रहेको बताए ।
नेपाल महिला संघ गोकर्णेश्वर नगरसमितिका सभापति लिलादेवि भट्टराईले सबैको ध्यान पार्टीलाई बलियो बनाउने तर्फ जानु पर्ने बताईन् ।
भेलालाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधि दुर्गा बरालले १४ औं अधिवेशन सफल बनाउँदै पार्टीलाई बलियो बनाउन सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेस गो.न.पा. ५ नं. इकाईको बृहत क्रियाशिल भेलामा आदीवासी जनजाती संघका साम्देन लामा, नेपाल दलित संघका क्षेत्रीय सभापति कमला नेपाली लगायत उल्लेख्य संख्यामा क्रियाशिलहरुको उपस्थिती रहेको थियो ।
भेलामा नेपाली कांग्रेसका शुभचिन्तक शम्भु रायमाझीको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो भनें भेलाको सञ्चालन इकाई सचिव केशव प्रसाद पुडासैनीले गरेका थिए ।
– (रविराज रिमाल)