आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पहिरोले कर्णाली नदी थुनियो, १२५ घर जोखिममा

गोकर्णेश्वर खबर१ भाद्र २०७८, मंगलवार ११:३६ मा प्रकाशित (२ साल अघि) २२८ पाठक संख्या

काठमाडौं । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिरमा ठूलो पहिरो गएको छ।

गाउँ नजिकैको पहरो फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन्। लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए।

रुडी गाउँको तलबाट निरन्तर तीन दिनदेखि सुक्खा पहिरो खस्न थालेपछि आइतबारदेखि नदी आंशिकरूपमा थुनिएको हो। पहिरो साउनको ५ गतेदेखि खस्न थालेको रुडीका स्थानीयवासी कर्म विकले बताए। ‘पहिरो त साउनको ५ गतेदेखि खस्न थालेको हो। पहिरो खस्न थालेपछि रोपाइँ पनि रोकियो,’ उनले भने, ‘पहिरोले कुलो बगाएपछि रोपाइँसमेत गर्न पाएनौँ, थोरै–थोरै झर्दै थियो, आजभोलि अझै धेरै सुक्खा पहिरो खस्न थालेको छ।’

पहिराले खानेपानीको पाइपसमेत बगाएपछि गाउँमा खानेपानीको हाहाकार भएको विकले बताए। गाउँमाथि र तलबाट निरन्तर पहिरो खस्न थालेको विकको भनाइ छ । निरन्तर सुक्खा पहिरो खसेपछि रुडीका १५५ परिवार पहिराको उच्च जोखिममा छन्।

पहिरोले जगन्नाथ गाउँपालिकाको केन्द्र पारि स्वामीकार्तिक खापर गाउँपालिका–१ को छुद्दरी नजिकै कर्णाली नदी आंशिक रुपमा थुनिएको छ। ‘नदी थुनिएर ताल बन्दै गएको छ’ विकले भने, ‘पारिपट्टिबाट निरन्तर पहिरो खस्न थालेपछि जगन्नाथ गाउँपालिका कार्यालय, प्रहरी चौकी पिलुचौरलगायतका नदी आसपासका बस्ती जोखिममा परेका छन्।’

ठूलो वर्षाबिनै चट्टान फुटेर पहिरो खसिरहेको छ। पानी पर्यो भने खतरा अझै बढ्ने उनले बताए। पहिरोले सिंचाइ कुलो बगाएको कारण यस वर्ष किसानले धान रोप्नसमेत पाएका छैनन्। रोपाइँ नहुँदा गाउँमा खाद्य सङ्कट हुने सम्भावना रहेको अध्यक्ष शाहीले बताए।

कर्णाली नदीको तटीय क्षेत्रमा रहेका स्वामीकार्तिक खापर गाउँपालिका–१, जगन्नाथ गाउँपालिका–२ र ३ नम्वर वडाका स्थानीयसँगै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाले आग्रह गरेका छन्। रासस