आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

रक्षामन्त्रीको घरमा हतियारधारी समूहको आक्रमण, चार जनाको मृत्यु

गोकर्णेश्वर खबर२० श्रावण २०७८, बुधबार ०९:२५ मा प्रकाशित (२ साल अघि) ३६९ पाठक संख्या

काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । सो घटनामा चार जना मारिएका छन् ।

हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने थिएनन् । उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो ।

यो घटनामा चार जना आक्रमणकारीको मृत्यु भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ । घटनामा ११ जना घाइते भएका छन् ।

अफगानिस्तानका अलगअलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले द्वन्द्व अन्त्यको अपिल गरेलगत्तै यो आक्रमण भएको हो ।

मंगलबार राति राजधानी काबुल शहरको केन्द्र भागमा भयंकर विष्फोट भएको आवाज सुनिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरुको आवास रहेको स्थान नजिक विष्फोट भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । राष्ट्रपति भवन, दूतावासहरु, अन्तर्राष्ट्रिय मिडिया र सहायता एजेन्सीहरुको कार्यालय पनि सोही क्षेत्रमा छन् । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।