आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बालुवाटारमा पार्टीका बैठक राख्ने गलत परम्परालाई तोडे देउवाले,कांग्रेस पदाधिकारीको बैठक बूढानीलकण्ठमा बस्दै

गोकर्णेश्वर खबर७ श्रावण २०७८, बिहीबार १८:३५ मा प्रकाशित (२ साल अघि) ४१६ पाठक संख्या

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले पार्टीका औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना नगर्ने निर्णय गरेको छ।

साउन १ गते बालुवाटारमा पदाधिकारी बैठक बोलाएको भन्दै व्यापक आलोचना भएपछि कांग्रेसले आगामी दिनमा औपचारिक बैठकहरू सरकारी निवासमा आयोजना नगर्ने निर्णय गरेको हो।

महामन्त्री पूर्णबहादुर खड्काले विगतको गलत परम्परालाई तोड्दै कांग्रेसले औपचारिक बैठकहरू बालुवाटारमा आयोजना नगरिने निर्णय गरिएको जानकारी दिएका छन्।

‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने निर्णय भएको छ’ उनले भने, ‘सोही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानीलकण्ठमा बस्दैछ।’

आशन्न महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसले शुक्रबार पदाधिकारी बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा क्रियाशील सदस्यता छानबिनमा भएको ढिलाइ र महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ।

कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो।

उक्त कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।

तर पूर्वनिर्धारित कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन आयोजना गर्न असम्भव रहेको नेताहरु बताउँदै आएका छन्।