FLASH NEWS
आज: २० श्रावण २०७८, बुधबार | Wed, 04, Aug, 2021 Gokarneshwor TV HD

जसपाको आधिकारिता कसले पाउँने,निर्वाचन आयोगको आज इजलास बस्दै

गोकर्णेश्वर खबर३ श्रावण २०७८, आईतवार ११:१८ मा प्रकाशित (२ हफ्ता अघि) १०० पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता विवादको टुंगोमा पुग्न निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्दै छ । इजलास बिहान ११ बजे बस्ने छ । पक्ष विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो चल्छ भन्ने कुरामा भर पर्छ ।’

जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ । त्यसैले आयोगले लिने निर्णयलाई चासोका साथ हेरिएको छ ।

जसपाको उपेन्द्र-बाबुराम र महन्थ-राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् । आयोगलाई आफ्नो बहुमत रहेको देखाउन आइतबार सशरीर निर्वाचन आयोगमा उपस्थित हुने उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षका एक नेताले जानकारी दिए ।

जसपाको महन्थ-राजेन्द्र पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिंदै सरकारमा सहभागी भएको थियो भने उपेन्द्र-बाबुराम पक्ष ओलीविरुद्ध बनेको विपक्षी गठबन्धनमा सहभागी भएको थियो ।

उपेन्द्र-बाबुराम पक्ष विपक्षी गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने तयारीमासमेत छ ।