आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

सत्ताबाट बाहिरिदा महेश बस्नेतको बर्बराहट: तरुण दल र वाइसिएलसँग लड्दा अंगभंग भए युवा संघले उपचार गर्छ

गोकर्णेश्वर खबर२ श्रावण २०७८, शनिबार १८:३९ मा प्रकाशित (२ साल अघि) ४३३ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका सांसद तथा नेता महेश बस्नेतले युथफोर्सलाई कसैले छोए आफूहरु अब अरिगांल जसरी जाइलाग्ने बताएका छन् । उनले आज उपत्यका भित्रका युथफोर्सका अगुवा कमाण्डरहरुलाई प्रशिक्षण दिँदै यस्तो निर्देशन दिएको हो । उनले अब युथफोर्स प्रत्येक वडासम्म गठन हुने बताए ।

प्रशिक्षणको क्रममा उनले युवासंघले युथफोर्समा संगठित भएका सबैको जिम्मा लिनेपनि प्रतिवद्धता व्यक्त गरेका छन् । उनले युथफोर्समा रहँदा कुनै पनि साथीहरुलाई अंगभंग भएको अवस्थामा राष्ट्रिय युवा संघले सबै उपचार गर्ने पनि बताए । उनले युथफोर्स प्रतिपक्षसँग लड्नको लागि भएको भन्दै युथफोर्समा संगठित हुने साथिहरुको सबै जिम्मा युवा संघले लिने बताए ।

उनले युथफोर्समाथि कसैले आक्रमण गरेको अवस्थामा युथफोर्सको सबै साथिहरु अरिगांल जसरी जाइलाग्ने बताए । उनले त्यसको लागि हतियारको चिन्ता नलिन आग्रह गरेका छन् । उनले तत्काल आफूसँग भएको जे छ, त्यही लिएर उठ्न आग्रह गरेका छन् । आफूले केही नपाउँदा रातो कफन, आफ्नो मुठ्ठी, ढुङ्गा सबै आफ्नो हतियार हुने उनले बताए । तर, आफूहरु यस्तो हिंसामा विश्वास नगर्ने भएकाले हतियारको आवश्यक नपर्ने बताए ।

उनले कांग्रेसले युवा परिचालन गरेर विचल्ली पारेको र माओवादीले वाइसिएल बनाएर चन्दा उठाएको जस्तो युथफोर्स त्यस्तो नहुने बताए । उनले युथफोर्स अनुशासित हुने र जनतासँग जोडिएर जनतासँग पानी र माछाको जस्तो सम्बन्ध बनाएर रहने बताए । ९ गते काठमाडौंमा युथफोर्सले विशाल शक्ति प्रर्दशन गर्ने तयारी गरिरहेको छ ।