आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

शेरबहादुर देउवा : पाँचौपटक प्रधानमन्त्री

गोकर्णेश्वर खबर३० असार २०७८, बुधबार ०६:४५ मा प्रकाशित (२ साल अघि) ९२२ पाठक संख्या

काठमाडौं । डडेलधुराको साविक अशोकग्राम गाविस-५ मा वि.सं. २००४ साल जेठ ३० गते जन्मिएका शेर बहादुर देउवा पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन् ।

सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका देउवा नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता हुन् ।

नेपाली कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । पटक–पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल रहेका छन् ।

हाल काठमाडौंको बूढानिलकण्ठमा बसोबास गर्दै आएका कांग्रेस सभापति देउवा एकजना भाग्यमानी सुदूरपश्चिमेली नेता हुन् । जसले जीवनमा पटक–पटक सिंहदरबारको सयर गरे । उनी सिंहदरबारमा मात्रै बसेनन्, आफ्नो जीवनको सुदूरपश्चिमे वर्गीय–क्षेत्रीय धरातल र जीवनशैलीमा समेत आमूल परिवर्तन ल्याउन सफल भए । पुराना राणाशाही कुलीन परिवारसँग उनको पारिवारिक सम्बन्ध जोडियो । जुन दक्षिण एसियाको वंशीय राजनीतिमा निकै अर्थपूर्ण छ ।

पिता श्रीप्रसाद देउवा र मात्र द्रौपदीदेवी देउवाको जेठा छोरा शेर बहादुर देउवाको जन्म २००३ जेठ ३१ गते डडेल्धुराको असीग्राम गाविस–५ रुवाखोलामा भएको थियो ।

देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । २०१७ राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तरुपमा सक्रिय रहेका उनी नेपाल विद्यार्थी संघको प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।

विसं. २०२३ सालमा गठित तरुण–सभाको अध्यक्ष भएर काम गरेका उनी २०२८ असोज १ गतेदेखि २०३६ फागुन २९ गतेसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष रहेका थिए ।

२०७२ फागुन २० देखि २३ गतेसम्म भएको १३औँ महाधिवेशनबाट देउवा पार्टीको सभापति बनेका हुन् । कार्यावाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतले हराउँदै सभापति बने ।

२०४८ सालमा संसदीय चुनाव जितेपछि २०४८ देखि २०ं५१ सालसम्म देउवाले गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गहमन्त्रीको पद सम्हालेका थिए ।

२०५२ देखि २०६४ सम्मको अवधिभित्र देउवा मुलुकको चारपटक प्रधानमन्त्री बने । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका देउवाले २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुराबाट चुनाव जितेका थिए ।

२०५१ सालमा गठन भएको नेकपा (एमाले)को अल्पमतको सरकार बीचमै ढलेपछि देउवा पहिलो पटक २०५२ साल भदौ २६ गते प्रधानमन्त्री बनेका थिए ।

दोस्रोपटक २०५८ साल साउन ७ गतेदेखि प्रधानमन्त्री बनेका देउवालाई १८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले बर्खास्त गरे । तिनै राजा ज्ञानेन्द्रले देउवालाई २०६१ साल जेठ २१ गते पुनः प्रधानमन्त्री बनाए ।

२०७२ सालको संविधान घोषणा भएपछि २०७४ जेठ २४ गतेदेखि २०७४ फागुन ३ गतेसम्म चौथोपटक उनी प्रधानमन्त्री बनेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए (स्नातकोत्तर) गरेका उनी सोही विषयमा लन्डन स्कुल अफ इकोनोमिक्सका रिसर्च फेलो रही सकेका छन् । देउवाका श्रीमती आरजु राणा संविधानसभा सांसद् थिइन् । उनका एकमात्र सन्तान जयवीर देउवा हुन् ।