आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

राष्ट्रपतिलाई विश्वप्रकाशको चेतावनी- ‘विज्ञप्तिको भाषा मात्र होइन,तपाईको प्रवृत्ति नै सच्चिनुपर्ने कुरा प्रधान हो’

गोकर्णेश्वर खबर२९ असार २०७८, मंगलवार २१:२३ मा प्रकाशित (२ साल अघि) २६८ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गरेको फैसला सरकार बदल्न मात्र नभएर राष्ट्रपतिको व्यवहार सच्याउनका लागि पनि भएको चेतावनी दिएका छन्।

कांग्रेस सभापति देउवालाई मंगलबार साँझ प्रधानमन्त्रीमा नियुक्ति दिइएको विज्ञप्तिमा राष्ट्रपपितले संविधानको कुनै धारा उल्लेख नगरी ‘अदालतको आदेशअनुसार’ मात्र लेखेपछि केही बेर देउवाले शपथ खान अस्वीकार गरेका थिए। पछि शपथ खुवाउने बेला धारा ७६ (५) अनुसार खुवाउने भनेपछि मात्र उनी तयार भए र तोकिएको समयभन्दा केही ढिला गरी शपथ खाए।

यसै सन्दर्भमा कांग्रेसका प्रवक्ता शर्माले विज्ञप्तिको भाषा मात्र होइन, राष्ट्रपतिको प्रवृत्ति नै सच्चिनुपर्ने कुरा प्रधान भएको चेतावनी दिएका हुन्।

‘अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननीय राष्ट्रपतिज्यू, पत्र सच्चिनेको कुरा मात्रै होइन, प्रवृत्ति सच्चिने प्रधान कुरा हो,’ प्रवक्ता शर्माले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सर्वोच्च फैसलाले सरकार बदल्न मात्र होइन, यहाँ संरक्षकलाई बदलिनसमेत आदेश दिएको विषयलाई विनम्रसँग आत्मसात् गरौं।’