आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

निषेधाज्ञालाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गर्यो : कांग्रेस

गोकर्णेश्वर खबर३ असार २०७८, बिहीबार २२:०८ मा प्रकाशित (२ साल अघि) २०३ पाठक संख्या

काठमाडौं । सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ।

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड–१९को विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको बताए। यसको नेपाली कांग्रेसको बैठकले निन्दा गरेको उनले बताए।

उनले भने, ‘लकडाउनको अवस्थामा नागरिकहरु जति नै सरकारसँग असन्तष्ट भएपनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरुले आफ्नो सत्ता जोगाउने कवचको रुपमा लकडाउनलाई लिइरहनु भाछ, त्यो संक्रमणको अवस्थालाई लिइरहनुभाछ । संक्रमणबाट उहाँहरु दुःखी हुनुपर्ने, यसलाई कसरी चाँडोभन्दा चाँडो कम गर्ने, रोक्ने भन्ने ठाउँमा यसले सत्तामा हामी झन् सुरक्षित भयौँ। कोही विरोधमा निस्किन सक्दैन। बाहिर आउन मिल्दैन भनेर उहाँहरु यसमा सहज महशुस गरिरहनु भाछ।’

बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्नेगरी प्रस्ताव पेश भएको छ भने स्थानीय तहको महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ। यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताए।

महाधिवेशनको सम्बन्धमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताए। उनले छिट्टै नै क्रियाशील सदस्यको सम्बन्धमा परेका उजुरीउपर छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिए।

उनले भने, ‘६ गतेसम्म उजुरी दिन समय राखेका छौँ। गुनासाहरु आएका छन्। भोलिदेखि गुनासा र उजुरी हेरेर निष्कर्ष निकाल्छौँ। अन्तिम नामावली फाइनल गर्न लाग्छौँ।’

बैठकले सिन्धुपाल्चोकको बाढीको घटनामा दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्दार र राहतमा लाग्न भनेको छ।