आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बाढी-पहिरो प्रभावितहरुको उद्धारमा जुट्न नेता-कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन

गोकर्णेश्वर खबर२ असार २०७८, बुधबार १६:०२ मा प्रकाशित (२ साल अघि) ३७४ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)का अनुसार प्रचण्डले बुधबार बिहान टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएका हुन् ।

सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डले सरकारलाई पनि बाढी पहिरो प्रभावितहरुको उद्धार तथा राहतलाई तीव्रता दिन दिन भन्नु भएको छ ।’

सापकोटाका अनुसार प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई पनि टेलिफोन गरी नदी कटान रोक्नका लागि आवश्यक बजेटको व्यवस्था गर्न भनेका थिए । सापकोटाले भने, ‘चितवन लगायतका जिल्लाहरुमा बाढीबाट हुने कटान र डुबानको लागि बजेटको प्रवन्ध गर्न अर्थमन्त्रीलाई भन्नु भएको छ । अर्थमन्त्रीले पनि हुन्छ भन्नु भएको छ ।’

केही दिनयताको अविरल वर्षाका कारण सिन्धुपाल्चोकसहित गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुमा बढी क्षति पुगेको छ ।