आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोना संक्रमित कोमलको स्वास्थ्यमा उल्लेख्य सुधार,पूर्वराजा ज्ञानेन्द्रको रिपोर्ट नेगेटिभ

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १६:४५ मा प्रकाशित (२ साल अघि) ४१६ पाठक संख्या

काठमाडौँ । कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ ।

१८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ ।