आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

जसपाका तीन र कांग्रेसका एक सांसदलाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार १५:५७ मा प्रकाशित (२ साल अघि) ३७९ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आगामी वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको संसद सचिवालयले जानकारी दिएको छ।

कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी (जसपा) का तीन र कांग्रेसका एक सांसद छन् । संक्रमण देखिएका सांसदमा जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरी रहेको ससंद सचिवालय स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट कृष्णकुमार खत्रीले जानकारी दिए।

बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएकोमा अहिलेसम्म आएका रिपोर्टमध्ये ६ जनामा संक्रमण देखिएको सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार एक उपसचिव र एक जना सुब्बालाई पनि कोरोना पोजेटिभ देखिएको छ।

यस्तै सभामुख र सभामुखको सचिवालयका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ भएको सचिवालयले जनाएको छ।

कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् ।

बाँकी सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ।