आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अल्पमतमा पर्दापर्दै लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त,प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमै बोलाएर लिए सपथ

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार २१:५८ मा प्रकाशित (२ साल अघि) ४६५ पाठक संख्या

बुटवल । विपक्षी सांसदहरुको घेराउका कारण प्रदेश प्रमुखको कार्यालय जान नपाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पोखरेललाई सपथ गराउन प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्रीकै कार्यालयमा आएका थिए ।

आइतबार विहान मात्र मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलले ४१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संविधानको धारा १६८ (१) अनुसार नेकपा एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरेका थिए ।

तर साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजिन् । एमालेकै सांसद दृगनारायण पाण्डेले राजीनामा दिए भने सूर्य चुनाव चिन्ह लिएर जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहले पोखरेललाई साथ नदिने घोषणा गरे ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका नेताहरुले प्रदेश प्रमुखलाई भेटेर पोखरलसँग बहुमत नभएकाले मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरे ।

तर बहुमत सदस्यको हस्ताक्षर पेश भएको भन्दै मुख्यमन्त्री यादवलाई पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे । लगतै ४२ सांसदले हस्ताक्षरसहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश भयो । प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई संविाधन विपरित पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै विपक्षी सांसदहरुले धर्ना दिएका थिए ।

धर्नाका कारण प्रदेश प्रमुखको कार्यालयमा सपथ गराउन समस्या हुने देखेपछि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई नै आफ्नो कार्यालयमा बोलाएर सपथ लिएका हुन् ।

सपथका लागि मुख्यमन्त्री कार्यालयमा जान प्रदेश प्रमुख आफ्नो कार्यालयबाट बाहिरिने क्रममा सुरक्षाकर्मीहरुले धर्नामा बसेका सांसदहमाथि बल प्रयोग गरेका थिए ।