आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

धवलागिरीमा हिमाल सफा गर्ने क्रममा मानव र हेलिकप्टरको अवशेष भेटियो

गोकर्णेश्वर खबर१७ बैशाख २०७८, शुक्रबार २२:११ मा प्रकाशित (२ साल अघि) ५५२ पाठक संख्या

काठमाडौँ । ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन गर्ने क्रममा सेनाले धवलागिरी बेस क्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका दुईओटा मानव अवशेष फेला पारेको छ । सोही बेस क्याम्पबाट अन्दाजी एक किलोमिटर इटाली बेस क्याम्पतर्फ नाइनएन एसीआर लेखेको हेलिकप्टरको अवशेषसमेत फेला परेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “मृतकहरूको पहिचान नखुलेकोले यस सम्बन्धमा थप छानविन भइरहेको छ भने हेलिकप्टरको सम्बन्धमा एयर डाइनास्टीको सन् २००६ मा दुर्घटना भएको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।”
उक्त मानव अवशेषहरू व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायहरूसँग समन्वयको प्रक्रियासमेत सुरु गरिएको बताइएको छ ।

सगरमाथासहित ६ वटा हिमालहरूको सफाइ गर्ने उद्देश्यका साथ सञ्चालित उक्त अभियानमा खटिएका टोलीहरूले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवम् स्थानीयवासिहरूसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेका छन् ।

वैशाख १२ गतेबाट फोहोर संकलन गरिएकोमा बिहीबारसम्म कुहिने ३५५ के.जी. र नकुहिने ४,७९९ केजी गरी जम्मा ५,१५४ केजी फोहोर संकलन भएको छ ।