आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अन्तत : काठमाडौंवासीको धारामा खस्यो मेलम्चीको पानी, पुरा भयो किसुनजीको सपना

गोकर्णेश्वर खबर१५ चैत्र २०७७, आईतवार १९:०६ मा प्रकाशित (३ साल अघि) ३८३ पाठक संख्या

काठमाडौं : आजदेखि काठमाडौवासीका धारामा मेलम्चीको पानी आएको छ ।

काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट घरका धारामा पानी पठाएर मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको हो ।

आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गरेका हुन् ।

हाल पुराना पानीपोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइनहरु परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेएलका कार्यकारी निर्देशक शाक्यले बताए ।

आइतबारदेखि नै देवकोटा सडक, बत्तिसपुतली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण सुरु गरिएको उनले बताए ।

उनका अनुसार अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने छ ।

कुन स्थानमा पानी जाने कता नजाने र कुन–कुन समयमा पानी आउने भनी सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमा राखिरहेको केयूकेएलले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो भने गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो ।

करिव तीन दशकअघि पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काडमाडौं ल्याउने बाचा गरेका थिए ।

– नेपालमञ्च