आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

किसुनजीको सपनाले सार्थकता पाएको दिन, मेलम्चीको पानी आज घर-घरमा

गोकर्णेश्वर खबर१५ चैत्र २०७७, आईतवार १८:४६ मा प्रकाशित (३ साल अघि) ४०२ पाठक संख्या

काठमाडौं : आज भन्दा करिव ३० वर्षअघि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कुरा गर्दा धेरैले हाँसोको पात्र बनाए ।

विपक्षी दलहरुले मजाक उडाए । धेरैले सोचेका पनि थिएनन् कि मेलम्चीको पानी काठमाडौंमा आउनेछ र काठमाडौंवासीको तिर्खा मेटाउन सफल हुनेछ ।

हुन पनि यो बीचमा, मेलम्ची निरन्तर बगिरह्यो । काठमाडौंको बागमतीमा धेरै पानी बगिसक्यो । दिन, हप्ता, महिना हुँदै वर्षाैंवर्ष विते ।

एक–दुई होइन, दर्जनौं सरकार बने । दर्जनौं प्रधानमन्त्री बने । तीस वर्षका बीचमा मन्त्री बन्नेको सूची लामो छ । तर मेलम्ची केवल सपना मात्रै बन्यो ।

भनिन्छ नि, जहाँ इच्छा, त्यहाँ उपाय । यहीबीचमा काठमाडौंमा जनघनत्व अस्वभाविक रुपमा बढ्यो ।

काठमाडौंले अब आफ्नै क्षमताले राजधानीबासीलाई पानी खुवाउन नसक्नेजस्तै भयो ।

काठमाडौं काकाकुल बन्यो । अनि बल्ल विकल्पको खोजी भयो । अनि सम्झनामा आए उनै कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजी ।

किसुनजीको सपनालाई मजाक बनाउनेहरु होसमा आए । सुरु भयो, मेलम्चीको पानी काठमाडौं ल्याउने योजना ।

विभिन्न आरोह-अवरोह पार गर्दै अन्तत मेलम्चीको पानी काठमाडौंका धारामा खस्ने दिन आएको छ ।

विगतमा समयको भाका सार्दासार्दै तीन दशक अघिको सपनाले सार्थकता पाएको छ । मेलम्चीको पानीको आशमा बसेको काठमाडौंले अब त्राण पाउने भएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले धाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको शुरुवात गर्ने कार्यक्रम छ ।

गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)कै पाइपलाइनबाट वितरण गर्न लागिएको हो।

पहिलो दिन आज चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।

उपत्यकाका तीनवटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाका पनि सिमित ठाउँमा मात्रै पानी पठाउने तयारी छ।

काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ।

उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ।

केयुकेयल प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ।

केयुकेयलबाट वर्षातको समयमा दैनिक करिब १७ करोड लिटर र सुख्खायाममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति हुँदै आएको छ।

खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ।

आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ।

सरकारले किसुनजीलाई विर्षेको छ । मेलम्चीको सपना देख्ने र देखाउने किसुनजीको योगदानलाई विर्षन र विर्साउन खोजेको छ सरकारले ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त आफैले मेलम्ची आयोजना ल्याउन सफल भएजस्तै अभिव्यक्ति दिएका छन् ।

उनका मन्त्रीको बोली पनि ओलीको जस्तै छ । मानौं कि तीन वर्षकै बीचमा मेलम्ची आयोजना सुरु भएर पूर्णता पाएको हो ।

सरकारले विर्षन खोजेपनि काठमाडौंबासीले त कहाँ विर्षनसक्छन् र ? किसुनजीकै सपनाले तीन दशकदेखि तिर्खाएको काठमाडौंको प्यास मेटिने भएको छ ।

त्यसैले आज धेरैले तिनै किसुनजीलाई सम्झेका छन् । र सम्झिरहनेछन् किसुनजी काठमाडौबासीको मनमस्तिष्कमा ।

-नेपालमञ्च