आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर चामुण्डामा आत्महत्या न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१५ चैत्र २०७७, आईतवार ०८:५१ मा प्रकाशित (३ साल अघि) ७९७ पाठक संख्या

चैत्र १५, काठमाडौँ । नेपालमा बढ्दै गईरहेको आत्महत्याको घटनाहरुलाई न्यूनिकरण गर्न सचेतनापूर्वक सरोकारवालाहरु बीचमा सहकार्यको आवश्यकता रहेको छ । बढ्दो आत्महत्याका बारेमा सबै पक्ष सचेत नहुने हो भनें स्थिती विकराल हुने संभावना रहेको छ । शनिबार काठमाडौं गोकर्णेश्वरमा आयोजित आत्महत्या न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रममा सहभागि वत्ताहरुले सो कुरामा जोड दिनु भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिहंको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा सिंहले नागरिकहरु बर्दी विनाका प्रहरी भएकोले सामाजिक सुरक्षा र सुव्यवस्था कायम गर्न नागरिक, प्रहरी र राज्यका निकायहरुका बीचमा सुसम्वन्ध र सहकार्य आवश्यक रहने बताउनु भयो । उहाँले आत्महत्या सामाजिक समस्या भएकोले बढ्दै गईरहेको आत्महत्या जस्ता घटनाहरु न्युनीकरणमा सबै पक्ष सचेत भएर अगाडी बढेमात्र सफलता हासिल हुने बताउनु भयो ।

शनिबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटि एवम् महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी बिट जोरपाटीको आयोजनामा जोरपाटी चामुण्डामा आयोजित आत्महत्या न्यूनिकरण सचेतना कार्यक्रम–२०७७ मा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले पछिल्लो समयमा आत्महत्या गर्ने क्रम बढदै गएको र यसलाई न्यूनिकरण गर्न सरकारको तिनवटै निकायले विशेष कार्यक्रम बनाएर गाँउ–गाँउमा टोल–टोलमा आत्महत्या लगायत अन्य अपराधिक क्रियाकलापलाई निरूत्साहित पार्न विशेष कार्यक्रम संचालन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । नगर प्रमुख चालिसेले आत्महत्या विशेषगरी व्यापारमा असफल, प्रेममा असफल भएर, मासिक तनाव र चिन्ता साथै गरिवी र घरेलु हिंसाबाट हुने गरेकोले यस्तो कार्य हुन नदिन सबै सजग हुने पर्ने कुरामा जोड दिनु भएको थियो । उहाँले आत्महत्या जस्तो घटनालाई कम गर्न नगरपालिकाले सामाजिक मनो परामर्शदाता पनि नियुक्त गरेर नगरले सचेतना कार्यक्रम गरिरहेको र आगामि दिनमा पनि प्रभावकारि ढङ्गबाट अगाडि बढाउने कुरामा प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

नगर उप प्रमुख शान्ति नेपालले लैंगिक हिंशा, पारिवारिक हिंशाका कारण आत्महत्या गर्ने महिलाहरुको संख्या बढीरहेको तथ्यांकले देखाईरहेकोले लैंगिक हिंशा, पारिवारिक हिंशा जस्ता हिंशा न्युनिकरणमा जोड दिनु भयो ।

गोनपा वडा नं ६ का अध्यक्ष रमेश अर्यालले नागरिकहरुको हक हीतको पक्षमा स्थानीय सरकारहरुले काम गरिरहेकोले आत्महत्याको जोखिम बढ्नु सामाजिक स्वास्थ्यको लागि राम्रो नभएको बताउनु हुँदै यसको न्युनिकरणका लागि सबै पक्षका बिचमा सहकार्यको आवश्यकता औंल्याउनु भयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटिका अध्यक्ष नवराज लामाले यस क्षेत्रमा आत्महत्याका घटनाहरु बढीरहेको तथ्यांक आएकाले नागरिकहरुलाई सचेत बनाउन आत्महत्याको बारेमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रमका प्रहरी अस्पतालका मनो चिकित्सक आशिष दत्तले आत्महत्याको बारेमा सचेतनामुलक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

कायक्रममा समाजसेवी, कलेज तथा स्कुलका प्राचार्यहरू, विद्यार्थी, अविभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समुहका प्रतिनिधि एवम् स्थानीयहरुको उल्लेख्य सहभागितामा रहेको थियो ।