आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

आफै बोक्सी आफै झाक्री : रेशम चौधरीलाई रिहा गर्न माग गरेको धर्नामा पुगे गृहमन्त्री थापा

गोकर्णेश्वर खबर१२ चैत्र २०७७, बिहीबार २२:५० मा प्रकाशित (३ साल अघि) ४७८ पाठक संख्या

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादल जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघर मण्डलमा भइरहेको धर्नामा सहभागी बनेका छन्।

बिहीबार दिउँसो धर्नामा पुगेर गृहमन्त्री थापाले सम्बोधन गरेका थिए।

धर्नामा बसेकाहरूलाई सम्बोधन गर्दै उनले आफू सरकारको प्रतिनिधि भएर आएको बताए।

चौधरीको रिहाइका लागि वार्ता टोली पनि गठन गर्ने थापाको भनाइ थियो। तपाईंहरूले १९ बुँदे माग राख्नुभएको छ। यी मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ, उनले भने,सरकारको यसमा ध्यान पक्कै गएको छ। प्रधानमन्त्रीका तर्फबाट म अहिले यहाँ उपस्थित भएको छु। सरकार पनि समस्यालाई सकेसम्म छिटोभन्दा छिटो समाधान गर्ने पक्षमै छ।

उनले चौधरीको रिहाइको विषयमा सरकार सकारात्मक नै रहेको बताए।

सरकारले छिट्टै वार्ता टोली गठन गरेर सम्वाद र वार्ताद्वारा नै यसलाई हल गर्नु उपयुक्त हुन्छ, उनले भने।

थारु कल्याणकारिणी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडौंको संयुक्त आयोजनामा माइतीघरमा केही दिनदेखि चौधरीको रिहाइको माग गर्दै प्रदर्शन हुँदै आएको छ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक एसएसपीसहित ८ जनाको हत्या भएको थियो। सोही घटनाको योजना बनाएको आरोपमा रेशम चौधरीसहित ८ जनालाई उच्च अदालत दीपायलले जन्मकैदको फैसला सुनाएको थियो।