आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

माधव नेपालसहित ४ नेताले स्पष्टिकरणको जवाफ सामूहिक रूपमा दिने

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार २२:५० मा प्रकाशित (३ साल अघि) ४४६ पाठक संख्या

काठमाडौं – एमाले वरिष्ठ नेता माधव नेपालसहित ४ जनाले आफूहरूलाई सोधिएको स्पष्टिकरण राजनीतिक रूपमा जवाफ दिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै नेपालसहित चार नेतालाई स्पष्टीकरणको पत्र थमाएपछि एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल समूहको छुट्टै बैठक बसेर स्पष्टिकरणबारे रणनीति तय गरेका हुन्।

सोमबार काठमाडौंमा बसेको उपलब्ध स्थायी कमिटी बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय भएको एक स्थायी कमिटि सदस्यले जानकारी दिए।

केपी ओलीले अझै संसद विघटन गर्न चाहिरहेको भन्दै बैठकमा लोकतन्त्र खतरामा रहेकाले सबै देशभक्ति पार्टी, नागरिक समाज एक ठाउँमा उभिनुपर्ने निष्कर्ष निकालेको छ।

पार्टीका महासचिव ईश्वर पोखरेलले आजै पार्टी नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र काटेर घरमै पुर्‍याएका छन्।