आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अस्ट्रेलियामा बाढीको वितण्डा : १८ हजार मानिसको उद्धार

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार २२:२३ मा प्रकाशित (३ साल अघि) ७०३ पाठक संख्या

काठमाडौं -अस्ट्रेलियामा पछिल्लो केही दिनयता जारी अविरल वर्षाका कारण मानिसहरुको जनजीवन प्रभावित बनेको छ । अस्ट्रेलियाको न्यु साथ वेल्स (एनएसडब्ल्यू)मा बाढीका कारण करिब १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । जसमध्ये राजधानी सिड्नीबाट तीनहजारभन्दा धेरैको उद्धार गरिएको छ ।

निरन्तरको वर्षाका कारण न्यु साउथ वेल्सको सिड्नीलगायतका क्षेत्रमा नदी तथा ड्याममा पानीको बहाव उच्च देखिएको छ । अधिकारीहरुले यो बाढीलाई ५० वर्षमा एकपटक हुने घटना भएको बताएका छन् । यो साताभर वर्षा जारी रहन सक्ने भन्दै उनीहरुले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

प्रधानमन्त्री स्कट मौरिसनले विस्थापित भएका मानिसहरुलाई आवश्यक कोष उपलब्ध गराउने बताएका छन् । एनएसडब्ल्यूकी प्रिमियर ग्लाडिज बेरेजिक्लियनले बाढीको कारण धेरै समुदायहरु अहिले समस्यामा परेको बताएकी छिन् । अहिले बाढी प्रभावित मानिसको उद्धारका लागि पाँचसयभन्दा धेरै उद्धारकर्ताहरु खटिएका छन् ।

त्यस्तै बाढीका कारण एनएसडब्ल्यूका दुई सयभन्दा धेरै विद्यालयहरु पनि बन्द भएका छन् । अस्ट्रेलियाको शिक्षा विभागले एक विज्ञप्ति जारी गर्दै दुईसयभन्दा धेरै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । विज्ञप्तिमा आफ्ना बालबच्चालाई सुरक्षितरुपमा घरमा नै राख्न अग्रह गरिएको छ । शिक्षा विभागले विद्यार्थीका साथै शिक्षक र कर्मचारीको सुरक्षा पनि आफ्नो प्राथमिकतामा रहेको बताएको छ । वर्षाका कारण एनएसडब्ल्यूको बस, रेल र आन्तरिक हवाई सेवा पनि प्रभावित भएको छ ।