आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

तागत भए प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको प्रस्ताब ल्याएर देखाउन शिक्षामन्त्री श्रेष्ठको चुनौती

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार २१:५२ मा प्रकाशित (३ साल अघि) १०६५ पाठक संख्या

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई अबिश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन् । नेकपा एमालेका उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले ललिततपुरमा आयोजित क्षेत्र नम्बर नौ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सबैभन्दा ठुलो पार्टी एमाले भएकोले सबै दल मिलेर पनि प्रधानमन्त्रीबाट ओलीलाई हटाउन नसक्ने बताए ।

‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताब ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबै भन्दा शक्तिशाली सरकार यही हो यसलाई कसैले हटाउन सक्दैन,’ उनले भने । सक्ने भए प्रधानमन्त्री ओली बिरुद्ध अविश्वासको प्रस्ताब ल्याएर देखाउन पनि उनले चेतावनी दिए । ‘यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिसाली सरकार हो, यो सरकारलाई कसैले हटाउन सक्दैन ।’

उनले चुनावपछि एमाले सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्दै त्यसको लागि सबै नेता र कार्यकर्ता चुनाव लक्षित कार्यक्रममा सहभागि हुन पनि आग्रह गरे । उनले भने । ‘यही सरकारले चुनाव गर्छ, फेरी बहुमत ल्याएर केपी शर्मा ओली नेतृत्वको सरकार बन्छ ।’ पार्टीको विधान विपरित गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुषललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै उनले राजनीतिलाई अस्थिर पार्न खोज्नेमाथि कारबाहीको थालनी गरेको पनि बताए ।

‘एमाले भएर पार्टी अध्यक्ष माथि नै कारबाही गर्ने चलखेल गर्छ भने उनीहरुमाथि स्पष्टीकरण नसोधे के गर्ने ? अब कारबाही प्रकृया अघि बढ्यो, चित्त बुझ्दो जवाफ नदिए विधानमा व्यवस्था भए अनुसार अघि बढाइनेछ,’ उनको भनाइ थियो । उनले थप्दै भने, ‘स्पष्टीकरण सोधेका नेताको जवाफ पर्खेका छौ, उचित समयमा विधान अनुसार कारबाही प्रकृया अघि बढाइने छ।’

मन्त्री श्रेष्ठले पार्टीभित्र अराजक प्रकृति बढेकोले कारबाही प्रकृया अघि बढाइएको बताए । ‘उहाहरुलाई पार्टीले रहर गरेर स्पष्टीकरण सोधेका होइन, विधि, प्रकृया र नियम मिचेको कारण पार्टीको पुर्ण बैठकको निणर्य अनुसार स्पष्टीकरण सोधेका हौ,’ उनले भने । प्रधानमन्त्री ओलीको कार्यकालमा माओवादीका महासचिव नेत्रबहादुर चन्द ९विप्लब० र तराई आन्दोलनका नेता सिके राउतलाई राजनीतिको मुल धारमा ल्याउन सफल भएको पनि उनले चर्चा गरे ।

उनले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि मात्रै मेलम्चीको पानी खुवाउने योजना असफल भएको बताउदैँ तत्कालिन खानेपानी मन्त्री प्रचण्डको बुहारी बिना मगरका कारण मेलम्चीको पानी आउन नसकेको टिप्पणी गरे । ‘ओली सरकारले एक वर्ष अघि नै पानी ल्याउने तयारी गरिसकेको थियो, त्यसबेला खानेपानी मन्त्रीकै कारण रोकिएको थियो । अब ढुक्क हुनुस मेलम्चीको पानी उपत्यका छिरिसकेको छ, केही दिनमै घरघरमा पानी आउछ । अब चैत १५ गते घरघरमा मेलम्चीको पानी आउनेछ, यो सरकारको यो अति महत्वपुर्ण सफलता हो । यसले प्रचण्डको अर्को योजना असफल भएको छ,’ उनको भनाइ थियो ।

उनले अब निर्वाचनको लागि तयारी रहन सबै कार्यकर्तालाई आग्रह गर्दै त्यसको लागि पार्टीले सहयोग गर्ने बताए । एमालेको सूर्य चिन्हमा मतदान गर्न सबै कार्यकर्तालाई अघि बढ्न निर्देशन दिदै उनले त्यसको लागि आफुले सबै प्रकारको सहयोग गर्ने बताए ।