आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

राष्ट्रपतिले संविधानको रक्षा गर्नुभएन : पूर्वराष्ट्रपति यादव

गोकर्णेश्वर खबर७ फाल्गुन २०७७, शुक्रबार २१:१७ मा प्रकाशित (३ साल अघि) ४६२ पाठक संख्या

जनकपुरधाम – पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको गुनासो गरेका छन् ।

शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको जनकपुरधाममा लोकार्पण गर्दै डा। यादवले भने, ‘राष्ट्रपतिले संविधानको पालना गर्नुभएन । रक्षा गर्नुभएन ।’

प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले संसद विघटन गर्न नहुने भन्दै रोक्नुपर्ने डा. यादवले बताए ।

‘तपाईं आफ्नो दलभित्रको विवाद समाधान गर्नुस् र, समाधान भएन भने सदनमा जानुस् । अरु दलसँग सहमति लिनुस् । अरु दलले साथ दिन्छ भने सरकार चलाउनुस । नभए अविश्वासको प्रस्ताव फेस गर्नुस् । र संविधानको स्टेप अनुसार जानुस् भन्नुपर्थ्यो’ डा. यादवले भने ।

उनले राष्ट्रपति भण्डारीको दलीय आवद्धता नछोडेको आशय प्रकट गरे । ‘उहाँ त राजनीतिक दलमा हुनुहुन्न, म पनि कांग्रेसबाट राष्ट्रपति बन्दा तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला समक्ष राजीनामा दिएको थिएँ । उहाँले पनि दिनुभएको होला म आशा गरौं’ डा. यादवले भने ।

चुनाव गराउने नाममा संविधानलाई भुटेर खाने कि संविधानलाई बचाउने ?’ उनले प्रश्न गरे ‘भोलि संसद पुनर्स्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानहरुलाई सोधुँला, त्यो म भन्न सक्दिनँ ।’

लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको बताउँदै उनले लोकतन्त्रलाई बचाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।

लोकतन्त्रको खम्बा राजनीतिक दल हो भन्दै उनले सबैभन्दा ठूलो दल विभाजित भएको र अर्को दल कांग्रेसको अवस्था पनि ठीक नभएको बताए । ‘सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ ? ठीक छ ?’ उनले प्रश्न गरे ।