आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पोखरा पुगेर देउवा र पौडेल एक अर्कामाथी नै खनिए

गोकर्णेश्वर खबर६ फाल्गुन २०७७, बिहीबार २०:३४ मा प्रकाशित (३ साल अघि) ४१५ पाठक संख्या

पोखरा – नेपाल राष्ट्रिय मगर संघको पोखरामा भएको राष्ट्रिय सम्मेलनमा सहभागी हुन बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता पोखरा आए। बिहान ८ बजेतिर पोखरा आएका पौडेल बिहानै श्रद्धाञ्जली सभामा भाग लिन गए।

कास्कीको ल्वाङघलेल गाउँका तत्कालीन कांग्रेस क्रियाशील सदस्य कीर्तिमान गुरूङको झण्डै एक महिनाअघि अमेरिकामा मृत्यु भएको थियो।

द्वन्द्वकालमा माओवादीबाट अंगभंग भएर अमेरिका विस्तापित भएका थिए गुरूङ। पार्टी क्रियाशील सदस्यको मृत्यु भएको शोक सभामा वरिष्ठ नेता पौडेलले सम्बोधन गरेर फर्किए।

त्यतिबेलासम्म सभापति देउवा पोखरा आइपुगेका थिएनन्। उनी झण्डै १० बजेतिर पोखरा विमानस्थल उत्रिए। देउवा पनि शहिद परिवार भन्दै गुरूङको घरतर्फ लागे।

पौडेलले शोकसभामा सम्बोधन गरेर फर्किएपछि देउवा परिवारलाई भेट्न भन्दै गुरूङको पोखरास्थित घरमा पुगे।

त्यसपछि नेताहरू पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्र पुगे। जहाँ नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेश स्तरीय सम्मेलन सुरू हुँदै थियो।

देउवा ढिलो पोखरा आए पनि फर्कने समय भने छिटो थियो। उनको काठमाडौं फर्कनै फ्लाइट १ बजेको थियो। छिट्टै पोखरा झरेका पौडेलको फर्कने समय भने दिउँसो ३ बजे थियो। पौडेलभन्दा अगावै देउवा बोलेर हिँडे।

जब पौडेलको बोल्ने पालो आयो, उनले देउवालाई कडा रूपमा जवाफ फर्काए।
कांग्रेस केन्द्रीय समितिको बैठक अहिले चलिरहेको छ भने पार्टीको ६ महिनाभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक अप्ठ्यारोमा पुगेको छ। सभापतिका लागि लडेका देउवा फेरि पनि आफू पार्टी सभापति हुने लाइनमा लागेका छन्।

‘हामीले समावेशी संविधान र संसदीय लोकतन्त्र बनायौं, आज खड्कप्रसाद ओली, कम्युनिष्ट प्रधानमन्त्रीले संविधानमाथि प्रहार गरेको छ’, पौडेलले प्रश्न गरे, ‘हामी समावेशी लोकतन्त्रको पक्षधरको दायित्व के हो ?’

संविधान र जनताको पहरेदार दलहरू भएको भन्दै पौडेलले कम्युनिष्टले मुलुक चलाउन नसकेको आरोप लगाए।

‘अब जनताको भरोसाको केन्द्र नेपाली कांग्रेस हो’, पौडेलले भने, ‘जनताको भरोसाको केन्द्र हुने कि नहुने ?’

पौडेलले अदालतले के गर्छ भन्ने भन्दा पनि कांग्रेसले के गर्छ भन्नेतिर ध्यान दिनुपर्ने बताए।

‘यो व्यवस्था भनेको संवैधानिक सर्वोच्चता हो, जे हुन्छ संविधान अनुसार हुन्छ’, पौडेलले देउवालाई जवाफ दिए, ‘अदालतले फैसला गर्दा पनि संविधानले जे भन्छ त्यही हुन्छ, कांग्रेसले किन नबोल्ने ? किन नभन्ने ?’

कांग्रेस केन्द्रीय समितिले प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक भनेर निर्णय गरेको स्मरण गर्दै पौडेलले ३ वर्षमै प्रधानमन्त्रीले संसद फालेको कुरा कांग्रेसले हेरेर बस्न नहुने बताए।

‘अनि यो पार्टीका नेताहरू जनतालाई कन्फ्युजनमा पारेर हिँड्ने ? जे पायो त्यही बोलेर हिँड्ने ?’ पौडेलले प्रश्न गरे।

सभापति देउवाले कांग्रेसले अदालतलाई यो निर्णय गर र त्यो निर्णय नगर भन्न नपाइने बताएका थिए।

उनले अदालतले जुनसुकै निर्णय गरे पनि कांग्रेसले स्वीकार्ने बताएका थिए। पौडेलले लोकतन्त्रका ठाउँमा ठालुतन्त्र चलाएर बसेको देउवालाई आरोप लगाए।

‘यहाँ लोकतन्त्रका ठाउँमा ठालुतन्त्र चलाएर बस्ने ? लोकतन्त्र चाहियो, ठालुतन्त्र चाहिँदैन। हातमा डाडु, पन्यूँ लिएर बसेका ठालुलाई प्रश्न गर्नुस्, किन मगरले प्रतिनिधित्व पाएन ?’ पौडेलले भने।

मुलुकको जनसंख्यामा सबभन्दा धेरै जनजाति मगरको रहेको भन्दै उनले मगरको प्रतिनिधित्व नभएको बताए।

‘बिपीले ४ जात ३६ वर्णको बनाएको थियो, कलरफूल थियो हाम्रो पार्टी’, पौडेलले भने, ‘अहिले किन भएन, कसैले जिम्मा लिनुपर्छ, आज यो कुराको लेखाजोखा हुनुपर्छ।’

संसद विघटनका विरूद्ध संघर्षमा जान नमानेका देउवालाई बारम्बार पौडेलले प्रश्न गरिरहे।

‘लोकतन्त्रको सबभन्दा ठूलो नेता हुने अनि लोकतन्त्रमाथि यत्रो आपत् हुँदा अदालत देखाउने ?,’ पौडेलले भने, ‘तपाईंहरूको अधिकार नखोसियोस्, यो संविधान फाल्न सक्छ ओलीले।’

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको भन्दै पौडेलले नभए देशमा गृहयुद्ध हुने चेतावनी दिए।

‘लोकतन्त्र बचाउने जिम्मा अदालतको हातमा आएको छ’, उनले भने, ‘हामी न्याय माग्छौं ’

परिवर्तन उल्टाउन देशीविदेशी षड्यन्त्र भइरहेको समेत पौडेलले दाबी गरे।

‘हामी अदालतलाई धम्क्याउने होइन,’ पौडेलले भने, ‘सबैकुरा अदालत भनेर पन्छाएर हिँड्यौं भने हाम्रो के काम ? नेताको के काम पार्टीको के काम ?’

पौडेल भन्दा अगाडी बोलेका देउवाले संसद विघटनको विषयमा अदालतले गर्ने फैसला कुर्न आग्रह गरे। जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? भनेर उनले प्रश्न गरेका छन्।

‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन, हामीसित पैसा पनि छैन। ठाउँ–ठाउँमा जुलुस पुर्‍याउन पनि सक्दैन। जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? जुलुसमा कति मान्छे आए भनेर हुन्छ ? त्यत्रो जुलुस ल्याउन हामीसित पैसा पनि छैन,’ देउवाले भने।

सम्मेलनमा बोल्दै देउवाले कांग्रेसका क्रियाशील सदस्य आन्दोलनमा बोलाए पनि नआउने दाबी गरे।

‘हाम्रा क्रियाशील आउँदा पनि आउँदैनन्, क्रियाशील दिने बेला मारामार हुन्छ,’ उनले भने, ‘क्रियाशील आउँदा पनि आउँदैनन्। चुनावमा क्रियाशील सबैलाई चाहिन्छ।’

प्रधानमन्त्री ओलीले हठात् संसद विघटन गरेर ठूलो ध्रुवीकरण गरेको देउवाको दाबी छ।

‘कोही यो ठिक हो भन्छ, कोही ठिक होइन भन्छ,’ उनले भने, ‘चार वटा कुरा छ, संसद विघटन संवैधानिक कि असंवैधानिक र संसद पुनर्स्थापना कि चुनाव।’

कांग्रेसले के गर्ने भन्नेबारे मिटिङ भइरहेको देउवाले बताए। ‘अब हाम्रो पार्टीले के गर्ने भन्ने कुरा मिटिङ भइराख्या छ। मिटिङ चल्या–चल्यै छ,’ उनले भने, ‘कोही भन्नुहुन्छ संसद फिर्ता हुन्छ, कोही चुनाव हुँदा हामीलाई फाइदा हुन्छ भन्नुहुन्छ।’

संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले अदालतलाई यसो गर उसो गर भन्न नमिल्ने बताए।

‘अहिलेको बेला मेरो भनाइ अदालतलाई यसो गर उसो गर भन्न पाइँदा पनि पाइँदैन। अदालतले पुनर्स्थापना गर्छ स्वीकार गर्छु, चुनाव गरोस् स्वीकार गर्छु। त्यसको अर्थ अदालतलाई मान्छु। त्यसकारण अदालतको निर्णय पर्खौं, अदालतले जे भन्छ त्यही स्वीकार गर्छौं,’ देउवाले भने।