आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अदालतको अवहेलना मुद्दाले प्रधानमन्त्री ओलीलाई पुर्‍यायो सर्वोच्च

गोकर्णेश्वर खबर६ फाल्गुन २०७७, बिहीबार २०:१३ मा प्रकाशित (३ साल अघि) ४८३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किए । आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद सचिवालयको निर्माणाधीन भवनको निरीक्षण गरेर ओली फर्किएका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालत परिसरमा पत्रकारहरुसँग भने, ‘उहाँले स्वयं उपस्थित भएर आफ्नो लिखित जवाफ पेश गर्नु भएको छ । उहाँले लिखित जवाफ मात्र पठाउनु भएको भए पनि हुन्थ्यो, तर लिखित जवाफसहित उहाँ स्वयं उपस्थित भएर अदालतप्रतिको आफ्नो उच्च सम्मानलाई पनि प्रस्तुत गर्नु भएको छ ।’

गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।

रिट निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् तमासा देखाउन’ भनेर अपमानजनक अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दामा गत माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।