आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ९ नं. वडा कार्यालयको भवन शिलान्यास

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार २२:४९ मा प्रकाशित (३ साल अघि) ७०३ पाठक संख्या

५ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । श्रीपञ्चमीको साइत पारेर मंगलबार नगर प्रमुख सन्तोष चालिसेले गणेशथानमा भुमिपुजन सहित भवन निर्माणको शिलान्यास गर्नु भएको हो ।

शिलान्यास पछि कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले वडावासीहरुलाई सेवा लिन सहजहोस् भन्ने उदेश्यका साथ वडा नं. ९ को लगभग केन्द्रमा पर्ने र सबै तिरबाट सेवाग्राही आउन पायक पर्ने भएर नै सो ठाउँ रोजिएको बताउनु भयो । मेयर चालिसेले नगरपालिकाका सबै वडा कार्यालयहरु यही कार्यकालमा निर्माण सम्पन्न गर्ने गरी काम भईरहेको र २८ करोडको लागतमा गोकर्णेश्वर नगरपालिकाको ७ तले भवन जोरपाटी चोकमा निर्माण गरिने र सो भवनको चाडै शिलान्यास हुने जानकारी गराउनु भयो ।

गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपालले वडा भवन बन्न लागेकोमा खुसी व्यक्त गर्नु हुँदै जनतालाई सेवा गर्ने काम जनप्रतिनिधिहरुबाट हुने भएकोले गरेका कामहरुको राम्रो मुल्यांकन जनताले पनि गर्नु पर्ने बताउनु भयो ।

शिलान्यास कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले वडा भवन निर्माण कार्य शुरु गर्न जस्तै सम्पन्न गर्न पनि सहयोग गर्न वडावासीलाई आग्रह गर्नु भयो । वडा कार्यालय बने पछि गणेशथानको पहिचान बढ्ने भएकोले खसुी भएर साथ सहयोग गर्न स्थानीय जनतालाई आग्रह गर्नु भयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापाले वडा कार्यालय भवन राम्रो बनाउन साथ दिन वडावासीहरुलाई आग्रह गर्नु हुँदै ३ वर्ष अगाडी नै काम गर्ने उदेश्य लिए पनि अब ६ महिना भित्रमा भवन निर्माणकार्य सम्पन्न हुने गरी काम शुरु गर्ने जानकारी दिनु भयो । थापाले वडा कार्यालय निर्माणका लागि आ आफ्ना ठाउँबाट सहयोग गर्न आग्रह गर्नु हुँदै सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

शिलान्यास कार्यक्रममा गोकर्णेश्वर नगरपालिका कार्यपालिका सदस्य तथा वडा सदस्य सत्यभामा श्रेष्ठ, वडा सदस्य पुरुषोत्तम थापा, वडा सदस्य हरिकृष्ण कारञ्जित, वडा सदस्य गमला कुमारी परियार, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।