आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

ओली समूहको ढुंगा प्रहारबाट कांग्रेस नेता एनपी साउदसहित ३ घाइते

गोकर्णेश्वर खबर४ फाल्गुन २०७७, मंगलवार २०:१२ मा प्रकाशित (३ साल अघि) ४८३ पाठक संख्या

काठमाडौं – बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ पनसेरामा ढुंगा प्रहार हुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन्।

मंगलबार दिउँसो कांग्रेसले आयोजना गरेको सभामा ढुंगा प्रहार भएको थियो।

नेकपा ओली समूहका स्थानीय कार्यकर्ता मुकेश पालको नेतृत्वमा आएको टोलीले ढुंगा प्रहार गरेको कांग्रेसको आरोप छ।

साउदका स्वकीय सचिव दीपक जोशीले दिएको जानकारीअनुसार ढुंगा प्रहारबाट साउदको खुट्टामा चोट लागेको छ।

‘नेकपा ओली समूहका कार्यकर्ताले ढुंगा हानेका हुन्। उहाँको दायाँ खुट्टामा चोट लागेको छ,’ उनले भने। उक्त घटनामा ढुंगा लागेर कांग्रेस कार्यकर्ता जयराज जोशीसहित अर्का एक जना पनि घाइते छन्।

घटनास्थलमा प्रहरी गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

ढुंगा प्रहार भएको खबर पाएपछि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ।

गाउँपालिकाको केन्द्रको विषयमा विवाद हुँदा नेकपा ओली र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो।