आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बालुवाटार जग्गा प्रकरण फाइल खुलेपछि माधव नेपाल तनावमा

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २१:४६ मा प्रकाशित (३ साल अघि) ६९७ पाठक संख्या

काठमाडौं – बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध परेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश दिएको छ । आज सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास जग्गा प्रकरणमा अभियोगपत्र दर्ता गर्दाका प्रमाणहरु झिकाउन आदेश दिएको हो ।

अभियोगपत्रको प्रमाणित प्रतिलिपि र मुद्दा दायर गर्दा अख्तियारले तयार गरेका कागजातहरु समेत झिकाउन आदेश दिएको हो ।वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई विपक्षी बनाई तत्कालीन प्रधानमन्त्री नेपाल समेतलाई मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए । उनले रिटमा राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरेको उल्लेख गरेका छन् ।

रिटमाथि सुनुवाई गर्दै प्रमाण झिकाउन आदेश दिइएपछि राजनीतिकवृत्तमा तरंग आएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै रिट दायर भएको थियो । पूर्व प्रधानमन्त्री नेपालले यसअघि आफूलाई जेल हाल्न खोजिएको विषय उठाइरहँदा अदालतको पछिल्लो आदेश आएको हो । यो मामलामा नेपाललाई मुद्दा चलाउन मिल्ने या नमिल्ने विषयमा प्रमाणित कागजातहरु झिकाउन आदेशमा उल्लेख छ ।