आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं उपत्यकामा कोरोना : ३१० जनाको मृत्यु, ७९,७२० संक्रमित

गोकर्णेश्वर खबर११ कार्तिक २०७७, मंगलवार १६:३२ मा प्रकाशित (३ साल अघि) ६६३ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको रफ्तार घटेको छैन । देशभरको कुल संक्रमितको संख्याको झण्डै आधा संख्या काठमाडौं उपत्यकाको रहेको छ ।

काठमाडौं उपत्यकामा अहिलेसम्म ७९ हजार ७ सय २० जना संक्रमित भएका छन् । देशभर संक्रमित भएको १ लाख ५९ हजार ८ सय ३० जना संक्रमित हुँदा उपत्यकाका तीन जिल्लाको मात्र संक्रमित संख्या आधा भन्दा धेरै छ ।

कोरोना संक्रमणमा मात्र हैन उपत्यकामा मृत्यु र संक्रिय संक्रमितको अवस्था पनि देशभरमा सबैभन्दा धेरैछ । उपत्यकामा देशभरको मानिसहरु बसोबास गर्ने भएको कारण र आवतजावत धेरै हुने कारण पनि यहाँ कोरोना संक्रमणको जोखिम बढेको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित छन् । काठमाडौंमा ५६ हजार ३ सय २ जना संक्रमित भएका छन् । त्यस्तै ललितपुरमा ८ हजार २९ र भक्तपुरमा ५ हजार ३ सय ८९ जना रहेका छन् ।

त्यस्तै उपत्यकामा अहिले २२ हजार ३ सय २९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १८ हजार ३ सय ३४ रहेका छन् । ललितपुरमा २ हजार ५ सय २० र भक्तपुरमा १ हजार ४ सय ३५ जना रहेका छन् । उपत्यकामा अहिलेसम्म ४७ हजार ७ सय ५४ जनाले कोरोना जितिसकेका छन ।

उपत्यकामा अहिलेसम्म ३ सय १० जनाको कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंमा मात्र १ सय ९८ जना रहेका छन् । ललितपुरमा ५५ जना र भक्तपुरमा ५७ जना रहेका छन् ।

काठमाडौंमा १० हजार ५ सय १ जना होम आइसोलेसनमा रहेका छन् । भक्तपुरमा १ हजार ७ सय १९ र ललितपुरमा २ हजार ४ सय ९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।