आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रधानमन्त्री निवासमै फैलियो कोरोना

गोकर्णेश्वर खबर१७ आश्विन २०७७, शनिबार २२:४३ मा प्रकाशित (३ साल अघि) ३७० पाठक संख्या

काठमाडौं । विश्वभरि महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा फैलिएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, प्रधानमन्त्रीका सुरक्षामा खटिँदै आएका चार दर्जनभन्दा बढी सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । केही सुरक्षाकर्मीको रिपोर्ट आउन अझै बा“की रहेको छ । सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि सेट नै फेर्ने तयारी गरिएको छ । सल्लाहकार तथा स्वकीय सचिव भने होम क्वारेन्टिनमा बसेका छन् ।

६० बढी सुरक्षाकर्मीमा संक्रमण

शुक्रबार प्रधानमन्त्री ओलीको भने स्वाब संकलन नगरिएको प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन् । यसअघि प्रधानमन्त्रीको निजी सचिवालयमा रहेका केही व्यक्तिमा कोरोना संक्रमण भएको थियो । त्यसपछि बालुवाटारमा कार्यरतको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर परीक्षण गराउँदा सल्लाहकार, स्वकीय सचिव तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना परीक्षणका लागि शुक्रबार स्वाब दिएका उनीहरूको शनिबार रिपोर्ट पोजेटिभ आएको हो । सल्लाहकारहरू रिमाल, भट्टराई र थापाले सामाजिक सञ्जालमार्फत शुक्रबार कोरोना परीक्षणका लागि दिएकामा शनिबार पोजेटिभ देखिएको जानकारी गराएका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले आफ्नो सम्पर्कमा आएकाहरूलाई स्वास्थ्य सचेतता अपनाउन आग्रहसमेत गरेका छन् ।

‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो । यसबीच मस“ग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु,’ रिमालले ट्वीटरमा लेखेका छन् ।

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै आफ्नो सम्पर्कमा रहेकालाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

संक्रमित सबै अहिले होम आइसोलेसनमा रहेका छन् । उनीहरूमा कोरोनाको लक्षण देखिएको छैन । यसअघि, प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयमा फोटो पत्रकारका रूपमा कार्यरत राजन काफ्लेलाई पनि कोरोना संक्रमण भएको थियो ।