आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

राहदानी सम्बन्धी सेवा पुनः सञ्चालन

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १५:२२ मा प्रकाशित (३ साल अघि) १८४ पाठक संख्या

काठमाडौंँ, २८ भदौ: अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिँदै आएको राहदानी सम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आजदेखि शुरु भएको हो ।

राहदानी सेवा पुनः सञ्चालन गरेसँगै विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटकहरु अन्तर्राष्ट्रिय उडान शुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा निःशुल्क राहदानी प्रदान गरिने जनाइएको छ । विभागको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनका अनुसार गत चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए तापनि आफ्नो मुलुक फिर्ता हुन सक्ने विदेशीहरु मङ्सिर मसान्तसम्म नियमानुसार राहदानी शुल्क लिएर पर्यटक राहदानी नियमित गर्ने तयारी भएको छ ।

पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुले १५ दिनभित्र जरिवाना शुल्क र विलम्ब शुल्क नलिई निःशुल्क राहदानी नवीकरण हुने उनले जानकारी दिए । उनका अनुसार गत चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका पर्यटकहरुले पाँच महिनाको अवधिसम्म (गत चैत ८ देखि साउन ३० गतेसम्म १५० दिन) निःशुल्क राहदानी बसे तापनि साउन ३० गतेपछि मङ्सिरसम्म शुल्क तिरेर सेवा नियमित गर्न सक्नेछन् ।

अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत हुने भएको छ । अध्यागमन कार्यालय काँकारभिट्टा झापा र पोखरा कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जनाकारी दिए । उनका अनुसार सीमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन भएसँगै सीमित सङ्ख्यामा कर्मचारीबाट दैनिक सेवा प्रवाह भइरहेको छ ।-रासस